खोप लिएर आएको विमान मौसम खराबीका कारण चीन फिर्ता

काठमाडौं  ।  आज चीनबाट नेपाल ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको खराबीका कारण आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । 

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए । उनका अनुसार चिनबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो । 

यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताउनुभयो । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको  छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.