कोभिड प्रभावित विपन्न परिवारलाई ५ अर्ब सहयोग गर्दै अर्थ मन्त्रालय
५ लाख घरपरिवारका लागि ५ अर्ब रुपैयाँ सम्बन्धित स्थानीय तहहरुमा पठाइसकेको छ ।

काठमाडौं । नेपाल सरकारले कोभिड–१९ बाट प्रभावित अति विपन्न परिवारलाई प्रदान गर्ने नगद राहत अनुदानको कार्य अघि बढाएको छ । ५ लाख घरपरिवारलाई प्रदान गर्ने भनिएको रकम स्थानीय तहमा निकासा गरिसकेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । 

मन्त्रालयले कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका, अति विपन्न परिवारका लागि नगद सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने कार्यविधि तयार पारेको छ । 

मन्त्रालयले दशैं अघि नै सहायता रकम बाँड्ने भनेपनि हालसम्म बाढ्न सकेको भने छैन । मन्त्रालयले तथ्याङ्क संकलनका लागि भने कातिक २५ गते मात्र विज्ञप्ति जारी गरेको हो । 

प्रत्येक स्थानीय तहले विपन्न परिवार पहिचान गरी १५ दिनभित्र निवेदन संकलन गर्न मन्त्रालयले विज्ञप्ति मार्फत निर्देशन दिइएको हो ।  

स्थानीय तहबाट संकलन गरिएको निवेदनको आधारमा रकम पनि स्थानीय तहले नै उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । ५ लाख घरपरिवारका लागि ५ अर्ब रुपैयाँ सम्बन्धित स्थानीय तहहरुमा पठाइसकेको प्रवक्ता शाक्यको भनाई छ । ‘मन्त्रालयले सोझै स्थानीय तहमा बजेट निकासा गरिसकेको छ । कतिपय स्थानीय तहले बजेट रुजु गरी नगद सहायता प्रदान गर्न थालिसकेका छन् । तर, हालसम्म कति बाँडे भन्ने बारे मन्त्रालयमा एकिन डाटा भने प्राप्त भइसकेको छैन ।’ 

केही गाउँपालिकाले भने तथ्याङ्क संकलन भइसकेपनि मन्त्रालयबाट बजेट प्राप्त नभएकोले निवेदकलाई रकम प्रदान गर्न नसकिएको बताउँदै आएका छन् । मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार प्रत्येक स्थानीय तहमा कोटा अनुसार बजेट विनियोजन गरेर पठाइसकेको छ । ‘कुनै–कुनै स्थानीय तहले भने बजेट रुजु नगर्दा बजेटबारे जानकारी नपाएको हुन सक्छ ।’ 

मन्त्रालयबाट बजेट निकासा भइसकेको र बाँकी प्रक्रिया भने स्थानीय तहले नै पूरा गर्ने शाक्य बताउँछन् । यस नगद अनुदान वितरणबारे सहकार्य  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने उनले बताए । 
अर्थ मन्त्रालयले उपलब्ध गराएको बजेट वितरणमा सङ्घीय मामिलाले समन्वय गर्ने मामिलाका प्रवक्ता बसन्त अधिकारीको भनाई छ । ‘कोभिड–१९ बाट प्रभावित अति विपन्नका परिवारलाई प्रदान गरिने नगद सहायतको समन्वयन गर्ने जिम्मा सङ्घीय मामिलालाई दिएको छ । बाँकी काम भने स्थानिय तहले नै गर्छ ।’

स्थानीय तहमा संकलित तथ्याङकको आधारमा विपन्न परिवारले नगद सहायता प्राप्त गर्नेछन् । प्रत्येक स्थानीय तहमा नगद सहायताका लागि सीमित कोटा तोकिएको छ । जसमध्ये खुल्ला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला–मजदूरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलगाडा मजदूर, सार्वजनिक यातायातका मजदूर, पर्यटकले नगद राहत प्राप्त गर्न सक्छन् । 

यसका साथै कोभिड–१९ का कारण एकाघर परिवारको आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार साथै कोरोनाका कारण रोजगारी गुमाएका, कुनै पनि मजदुर संगठनसँग नजोडिएका परिवारले नगद सहायता प्राप्त गर्न सक्छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.