काठमाडौं । अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामी बेपत्ता पारिएका छन् ।
मुगुको सोरु गाउँपालिका–४ लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेका उनलाई केटी पक्षले अपहरण गरी बेपत्ता पारेका हुन् ।
चन्द्रे कामी र सुन्तली मल्लले गत मङ्सिर ५ गते मल्लकै घरबाट भागी विवाह गरेका थिए ।
अपहरणअघि कामीमाथि केटी पक्षले निर्मम कुटपिट गरेको थियो ।
चन्द्रेका बुबा धनजय कामीका अनुसार केटी पक्षले मङ्सिर २९ गते राती जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाइ आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घर परिवारमाथि पनि कुटपिट गरेका थिए ।
बुवा कामीले भने, 'अन्तरजातीको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन । खै छोरालाई कुन कर्णाली नदीमा फाले होलान् अत्तोपत्तो छैन ।'
कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवतीकाे माइती पक्षको धम्की सहँदै आउनु परेको थियो । माइती पक्षको धम्कीका कारण छोरा बुहारी सर्केगार्ड गाउँपालिकाका २ को रीपगाउँमा बस्दै आएको बुबा कामीले बताए । रासस