काठमाडौं । डिसेम्बर १९ का दिन दक्षिण कोरियाको बुसान शहरमा भव्यताका साथ लिम्बु समुदायको चासोक तङनाम मनाइएको छ ।
लुम्बिनी सभा हलमा सांस्कृतिक रूपमा चासोक पूजा सहित किरात याक्थुङ चुम्लुङ बुसानले उल्लासतापूर्वक चासोक तङनाम अर्थात् उभौली पर्व मनाएको थियो।
लिम्बू समुदायमा वर्षको पाकेको पहिलो अन्नबाली पितृलाई चढाएर ग्रहण गर्ने परम्परा रहिआएको छ। यसो गर्नाले विभिन्न रोगहरु नलाग्ने र सहकाल रहिरहने जनविश्वास छ।
उक्त परम्परालाई मंसिर पूर्णिमाको दिन उल्लासमय तरिकाले मनाउने प्रचलन रहेको छ। यसैगरी अनुष्ठानको लागी सेवा सावाको रुपमा सेसेफुङ सेर्माले मुन्धुम वाचन गरेर चासोक पूजा गरेका थिए।
कार्यक्रमका प्रमूख अतिथि एवम आदिवासी जनजाती महासंघ बुसानका अध्यक्ष परी गुरुङले नेपालका साँस्कृतिक मौलिक चाडपर्वहरुमा सबैजना उपस्थित भई शुभकामना आदानप्रदान गर्दा आपसी सद्भाव कायम रहने बताएकी थिइन्।
यसैगरी आफ्नो मौलिक संस्कृति र परम्परालाई कायम राख्न प्रवासमा पनि चासोक तङनाम मनाइएको संस्थाका अध्यक्ष दिवा वरुमहाङले जानकारी गराएकि थिइन्।
कोरियामा सक्रिय सामाजिक संस्थाहरु नेपाल तामाङ घेदुङ संघ, तमु धि ख्यङ्साङनाम्दो, किरात राई यायोक्खा बुसान, नेपाल तामाङ घेदुङ संघ बुसान, नेपाल मगर संघ बुसान, गैर आवासी नेसंघ राष्ट्रिय समन्वय परिषद् कोरिया, एनाअरएन कोरिया बुसान, न्यू भिजन ग्रूप लगायत अन्य संघ संस्थाहरुबाट विशेष अतिथी एवम अतिथीहरुको उपस्थिति रहेको थियो।
चासोक तङनामको मूख्य आकर्षणमा लिम्बू मौलिक परिकारहरु याङ्बेन, फाक्सा, तोङ्बा आदिको स्वाद सँगै लिम्बू जातिको मौलिक नाच केलाङ र यालाङ धान नाचकोपनी मनोरञ्जन लिन सकिन्थ्यो।
विगतका वर्षहरुमा नेपालबाट कलाकार आमन्त्रण गरेर चासोक मनाइएकोमा यो वर्ष कोरोना महामारीका कारण कलाकरहरु आमन्त्रण गर्न नसकिएको संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज सुब्बाले जानकारी दिए।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नाफिसा सुब्बाले स्वागत मन्तव्य राखेकी थिइन् भने औपचारिक र साँस्कृतिक दुई चरणको कार्यक्रमलाई क्रमशः सचिव सञ्जोग कन्दङ्वा र डम्बर सुब्बाले सञ्चालन गरेका थिए।