काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगभग समापनको स्थितिमा छ । हाल केन्द्रीय सदस्यहरुको मतगणना अन्तिम चरणमा पुगेको छ ।
‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ मूल नारालाई आत्मसात गर्दै महाधिवेशनले मैजारो मनाउन लागेको हो । प्रतिनिधिले २९ मतपत्रमा मत हालेका थिए ।
गगन थापाले महामन्त्रीमा उम्मेद्वारी दिँदै गर्दा महाधिवेशनपछि कांग्रेसको लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ रहेनछ भनेर प्रचार गरे । तर, पार्टीले त्यसलाई आधार मान्न सकेको छैन ।
महामन्त्री थापाले भनेजस्तै समुन्नत नेपाल सम्मानित नेपाली नारालाई आधार मानेर महाधिवेशन सम्पन्न भएको देखिँदैन । बरु चरम गुटबन्दीमा आफ्ना नेता कार्यकर्ता जिताउन महाधिवेशन सफल भयो ।
कांग्रेस प्रजातान्त्रिक विचारबाट प्रवाहित पार्टी हो । सुरूवाती दिनका यसका दस्तावेज हेर्दा थाहा हुन्छ, कांग्रेस वैचारिक धरातलमा जन्मिएको पार्टी हो र विचारले नै यसलाई दोहोर्याउँदै अघि बढाएको हो ।
तर १४औं महाधिवेशनले यसलाई परिमार्जन गरेको स्थिति छ । किनभने यस समयमा पार्टी भित्रका नेताहरु विचारबाट प्रवाहित भन्दा पनि गुटगत भेलामा समाहित छन् । विचारलाई एक छेऊमा राखेर नेताहरु गुटको शक्तिबाट अर्को छेऊमा कांग्रेस बनाउने योजनामा रहेको सम्पन्न महाधिवेशनले प्रष्ट पारेको छ ।
बरु कांगेस महधिवेशनले संस्थापन इतर नेता जन्माउन सफल भएको छ । कांग्रेस महधिवशेनले शेखर कोइरालालाई सभापतिमा हराएका मात्र छैनन् । उनी कांग्रेसभित्र अर्को शक्ति भनेर स्थापित पनि भएका छन् ।
यो हविगतमा १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसका कार्यकर्ताले के सन्देश पाए होलान ? के मुद्दा बोकेर जनता सामु जालान् ? कार्यकर्ता रणभूल्ल छ ।
२००७ सालमा गरेको क्रान्तिको आह्वान वैचारिक क्रान्तिको आह्वान थियो । अहिलेका नेताले कहिले बुझ्छन् हो कुन्नी ? कि बुझेर नि बुझ् पचाएका हुन् । एउटा विचार, दृष्टिकोण र आकांक्षा बोकेर हिँड्नका लागि कानूनको शासनप्रतिको जिम्मेवारीलाई बोध गरेर कांग्रेस स्थापना भएको थियो ।
वैचारिक पार्टी हुनुका कारण सुरूदेखि नै कांग्रेस महाधिवेशनले वैचारिक स्पष्टतालाई महत्व दिएको देखिन्छ । पहिलो महाधिवेशन देखि १३औं महाधिवेशनसम्मलाई नीतिगत उद्देश्य र विचारको रुपमा फर्केर हेर्दा कांग्रेस विचारको राजनीतिमा निरन्तर उभिएको देखिन्छ ।
तर कांग्रेस १४औं महाधिवेशनले पुनः सभापतिमा शेरबहादुर देउवालाई जिताउँदै गर्दा कांग्रेस भित्रको विचारलाई हराउँदै गएको कार्यकर्तामा भान हुन्छ ।
नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन २५ जनवरी १९४७ मा कलकत्तामा भयो । त्यो महाधिवेशनले नेपालमा क्रान्तिको आवश्यकता छ भन्ने सन्दर्भमा नेपाल र भारतको अविच्छिन्न सम्बन्ध छ तर नेपालको स्वतन्त्रताका निम्ति हामीले क्रान्ति गर्नु जरूरी छ भनेर ब्याख्या गरेको थियो ।
यसले नेपालमा जन्मेका र काम गरिरहेका अरू पार्टीहरुको पनि विश्लेषण गरेको छ । प्रजा परिषद, जो कांग्रेसभन्दा पुरानो पार्टी हो । प्रथम महाधिवेशनले त्यसको चर्चा गरेको छ । प्रजा परिषदको उद्देश्यको प्रशंसा गरेको छ ।
महत्वपूर्ण पक्ष के छ भने, वैचारिक दृष्टिकोणबाट स्वतन्त्रताका निम्ति चाहना गर्ने पार्टी भएको हुनाले यसले आफूजस्तै अरू सामाजिक र राजनीतिक आन्दोलनलाई पनि सुरूदेखि नै वृहत्तर लोकतान्त्रिक आन्दोलनको सहयात्रीका रूपमा हेर्दै आएको छ ।
कम्युनिष्टको जस्तो यो वर्ग शत्रु हो र यो दुश्मन हो भन्ने भाषा कांग्रेसले प्रयोग गरेको देखिन्न । दोस्रो महाधिवेशनमा आइपुग्दा नेपाली राष्ट्रिय कांग्रेसले ठूलो सैद्धान्तिक र व्यवहारिक राजनीतिको फाउन्डेसन (आधार) तयार गरेको देखिन्छ ।
उक्त महाधिवेशनको निर्णयमा नेपाली कांग्रेसको मूल उद्देश्य नेपालमा महाराजधिराजको वैधानिक अधिनायकत्वमा उत्तरदायी शासन कायम गर्नु हो भनिएको छ । यो २००७ सालको क्रान्तिभन्दा अघिको कुरा हो ।
यसरी दोस्रो महाधिवेशनबाट एउटा ठूलो क्रान्तिको बिगुल फुकेको देखिन्छ । त्यतिबेलाको विश्लेषण के छ भने, राजाहरूलाई समेत राणाहरूले बन्दी बनाएका छन् । उनलाई मुक्त गराएर क्रान्ति गर्नुपर्छ भन्ने हो ।
त्यतिबेलै नेपाली कांग्रेसले नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाउनु पर्छ भनेको छ । अन्तर्राष्ट्रिय सम्बन्धहरूका बारेमा पनि महाधिवेशनले बोलेको छ ।
२००५ फागुन १८ गते दरभंगामा भएको नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो महाधिवेशनमा आफ्नो पार्टीको दुई वर्षको संघर्ष र भारतले प्राप्त गरेको स्वतन्त्रतालाई विवेचना गरेको छ ।
२००६ चैत २७–२९ मा कलकत्तामा भएको नेपाली कांग्रेसको चौथो महाधिवेशनले मूल राजनीतिक प्रस्ताव, प्रवासी नेपाली, आर्थिक प्रस्ताव, बर्माका नेपाली, राजबन्दीहरू, मलायामा गोर्खा फौज र बिघट्टीका बारेका छलफल गरेको देखिन्छ । यो नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकता महाधिवेशन पनि थियो ।
नेपाली कांग्रेसको पाँचौं महाधिवेशन २००९ मा जनकपुरमा भयो । उक्त महाधिवेशनले पार्टीले राजनीतिक र आर्थिक दुइटा मुख्य काम गर्नुपर्ने उल्लेख गरेको छ । पार्टीको औद्योगिक नीति र वैदेशिक नीतिबारे पनि महाधिवेशनमा छलफल भएको थियो ।
२०१२ मा वीरगन्जमा भएको कांग्रेसको छैठौं महाधिवशेनले पहिलो पटक प्रजातान्त्रिक समाजवादी घोषणापत्र पारित गरेको थियो । उक्त महाधिवेशनले भूमि रेकर्ड अपरेसन, घुम्ती अदालतको माग, जमिनदार र किसान, भन्सार कर, वनको राष्ट्रियकरण लगायत १८ वटा प्रस्ताव पारित गरेको थियो ।
२०१७ मा काठमाडौंमा कांग्रेसको सातौं महाधिवेशन भयो । त्यसपछि पञ्चायतका ३० वर्ष राजनीतिक दलहरू प्रतिबन्धित रहे । बहुदलीय व्यवस्थाको पुर्नस्थापना भएपछि कांग्रेसको आठौं महाधिवेशन २०४८ फागुनमा झापामा सम्पन्न भयो । उक्त महाधिवेशनमा राजनीतिसँगै कृषिसम्बन्धी र अन्तर्राष्ट्रिय प्रस्तावहरू पनि पारित गरेको थियो ।
२०५३ मा भएको नवौं महाधिवेशनले राजनीतिक, स्वावलम्बन र रोजगार, परराष्ट्र नीतिसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो । नेपाली कांग्रेसको दशौं महाधिवशेन २०५७ साल माघमा पोखरामा भएको थियो । उक्त महाधिवेशनमा कांग्रेसका नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।
२०६२ भदौमा काठमाडौंमा भएको कांग्रेसको ११औं महाधिवेशनले महत्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो । उक्त महाधिवेशनले माओवादी समस्याको समाधान, संविधान सभा र राजसंस्थालाई हेर्ने दृष्टिकोणबारे निर्णय गरेको थियो । यही महाधिवेशनले केन्द्रीय समितिमा दलित महिला, जनजाति र मधेसीका लागि प्रतिनिधित्वका लागि आरक्षित सदस्य संख्याको निर्धारण र निर्वाचन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसको १२औं महाधिवेशन २०६७ असोजमा काठमाडौंमा भएको थियो । यो नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीचको एकता महाधिवेशन थियो । त्यही महाधिवेशनबाट कांग्रेसमा प्रत्यक्ष निर्वाचित महामन्त्रीको पद राखियो ।
२०७२ फागुनमा काठमाडौंमा भएको नेपाली कांग्रेसको १३औं महाधिवेशनले संविधानको कार्यान्वयन र भूकम्पपीडित जनताप्रतिको दायित्व लगायत विविध विषयमा प्रस्ताव पारित गरेको थियो । ‘नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं, परिवर्तनलाई व्यवहारमा उतार्न कार्यान्वयनको नेतृत्व गरौं’ भन्ने प्रतिवद्धता उक्त महाधिवेशनले पारित गरेको थियो । कांग्रेसले विचारको यो शृंखलालाई आराम गराएर १४औं महाधिवेशन समापन गरेको छ ।
समग्रमा भनुपर्दा कांग्रेसले बोक्दै आएको छबी १४औं महाधिवेशनले बिसाईएको देखिन्छ । नेपाली कांग्रेसको जुन छबी बिगार्ने क्रम थियो त्यो यसपालीको महाधिवेशनबाट झनै क्रम भंग भएको छ ।
मतपरिणाम आँउदा संस्थापन पक्ष र संस्थापनइतर पक्ष भनेर रुमलिने कांग्रेसले देशको अति आवश्यक मुद्दाहरु बोक्न सकेको छैन । आफु सत्तामा हुँदै गर्दा पनि जनता रुझाउन नसक्नु कांग्रेसको कमजोरी हो ।
महाधिवेशनले गुटगत नेतालाई जिताउने बाहेक अरु राजनीतिक र संगाठानिक निर्णयहरु गर्न सकेन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले राष्ट्रियता र नेपाली राजनीति वारे आफ्नो प्रष्ट विचार दिन सकेन । अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण प्रस्तुत गर्न सकेन ।
मौखिक रुपमा निर्वाचनमा बहुमत ल्याउने दावी गरिरहँदा कांग्रेस तुलनात्मक रुपमा पहिलेको महाधिवेशन भन्दा विचारमा निकै खस्किएको देखिन्छ । बरु महाधिवेशनलाई टुंगोमा पुराएर हतारमा एमसीसी पास गरि अमेरिकसँग सम्बन्ध सुधारको बाटो कांग्रेसले राजेको देखिन्छ ।