काठमाडौं । २०७२ को महाभूकम्पबाट क्षति पुगेको भौतिक संरचना निर्माण गर्न गठन गरिएको राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको समयअवधि सकिएको छ । पौष ८ मा प्राधिकरणको समय सकिएसँगै ९ गतेबाट नै बाँकीे काम सम्बन्धित मन्त्रालयमा जिम्मा लगाएको प्राधिकरणले जनाएको छ ।
२०७२ पौष १० मा स्थापना भएको प्राधिकरणको कार्यावधि पाँच वर्षको रहेको थियो । पाँच वर्षमा तोकिएको काम सम्पन्न हुन नसकेपछि एक वर्ष समय थप गरिएको प्राधिकरणको समय विहिबारबाट सकिएको हो । प्राधिकरणले जिम्मा लिएको निजि तथा सरकारी भवन निर्माण, पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको पुनर्निनिर्माणको कार्य भने पूर्ण रुपमा सम्पन्न भइसकेको छैन ।
२०७२ को भूकम्पले देशभर आठ लाख १७ हजार निजि आवासमा क्षति पुगेको थियो । जसमध्ये ७० हजार घरहरुको प्रवलिकरण, ७ हजार ५५३ विद्यालयको पुनर्निर्माण ८९१ पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको पुननिर्माण, एक हजार १९७ स्वास्थ्य संस्था भवन, ४१५ सरकारी भवन र ३८३ सुरक्षा निकायका भवन पुनर्निर्माण गर्ने जिम्मा प्राधिकरणले लिएको थियो ।
प्राधिकरणले छ वर्षको समयअवधिमा निजि आवासतर्फ ९१ प्रतिशत पुनर्निर्माणको कार्य सम्पन्न गरिसकेको छ । ९१ प्रतिशत नै विद्यालय भवन निर्माणको काम सम्पन्न भएको छ । पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको निर्माण कार्य भने ६५ प्रतिशत मात्रै सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्पन्न नगरेको निजि तथा सरकारी भवन निर्माणको जिम्मा भने शहरी विकास मन्त्रालयले लिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले बताए । ‘निजि तथा सरकारी भवन निर्माणको बाँकी कार्य मन्त्रालय स्तरबाट गरिनेछ । अन्य क्षेत्रको बाँकी काममा भने मन्त्रालयले हेर्दैन ।’
प्राधिकरणले २०७२ मा तयार गरेको पुनर्लाभ कार्यढाँचा अनुसार पुनर्निमाणको कुल लागत ९३८ अर्व अनुमानित गरिएको थियो । तर ०७४ को कार्यढाँचा अनुसार भने ६३० अर्व लागतको अनुमान गरिएको थियो । पुनर्निर्मामाणका लागि प्राधिकरणलाई सरकारी निकाय, दातृनिकाय, निजि क्षेत्र, ग्रामीण समुदाय, एनजीओ आइएनजीओहरुले सहयोग गरेको प्राधिकरणले जनाएको छ ।