काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले एमसीसीमार्फत् अनुदानमा आएको रकम फिर्ता होस् भन्ने नचाहेको बताएका छन् ।
शनिबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।
‘नेपाललाई आउने भनेको पैसा जाओस् भन्ने हाम्रो चाहना होइन । नेपाललाई पूर्वाधार विकासका लागि पैसा चाहिएको छ । तर त्यो भित्र बीचमा केपी ओली र अर्थ मन्त्रालयबाट जे जस्ता कामहरु गरिएको छ, र त्यसले प्रश्न जन्माउँदै लगेर नेपाली जनमानसमा गम्भीर खालको आशंकाको स्थिति छ, त्यसलाई सम्बोधन नगरी क्लियर नगरी जानु भनेको अमेरिका र नेपाललाई पनि फाइदा हुँदैन’ अध्यक्ष प्रचण्डको भनाइ छ ।
उनले उठेका प्रश्नहरूबारे प्रस्ट नभई एमसीसी अघि बढाउँदा राजनीतिक प्रक्रियालाई पनि फाइदा नपुग्ने भएकाले कार्य दलको रिपोर्टका आधारमा अघि बढ्ने बताए ।
उनले अमेरिकनहरूसँग समेत लगातार छलफल हुने गरेको र त्यसका लागि समय लाग्नसक्छ तर त्यो समयका लागि दबाब नहोस् भनेको जानकारी गराए ।
उनले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राखेर र प्रोजेक्टभित्रको सुरुवातको सम्झौता र पछिका कयौं सम्झौताबाट उठेका प्रश्न्को जवाफ दिएर मात्रै अघि बढाउन सकिने पनि बताएका छन् ।