खड्क सुनार
मुगु । कर्णाली राजमार्गअन्तर्गत नाग्म - गमगढी सडक निर्माण भएको ९ वर्ष बढी भयो । तर अझै सडकको स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती छ । यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने र त्यो नसकिए तत्काल ग्राभेल गर्न माग गरेका छन् ।
नाग्म-गमगढी सडक खण्डको स्तरोन्नति नहुँदा मुगु आउने यात्रु र सवारी चालकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । नाग्म(गमगढी सडक वर्षमा ३ महिनामात्र सवारी सञ्चालन हुने गरेको स्थानीय बताउँछन् । सडकको स्तरोन्नति नहुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।
नाग्म-गमगढी सडकखण्ड स्तरोन्नति गर्न न संघीय सरकार, न प्रदेश सरकार र स्थानीय सरकारले नै कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।
स्थानीय सरकारले ुयो सडकको स्तरोन्नति गर्ने काम हाम्रो हैनु भन्ने, प्रदेश सरकारले यो संघीय सरकारअन्तर्गत पर्ने भएकाले आफूले स्तरोन्नति गर्न नसक्ने बताउँदै आएको छ ।
'यो सडकको बिजोग भएको १० वर्ष पुग्न लागिसक्यो,' नाग्म–गमगढी सडकको हिलो देखाउँदै नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुका सभापति जयबहादुर मल्लले भने,'अहिलेसम्म सडक राम्रो बन्न सकेको छैन, सडक हो कि पौडी खेल्ने आहाल ? छुट्याउनै गाह्रो । यताउता गर्न पनि सारै सास्ती खेप्नु पर्छ ।'
सडक स्तरवृद्धिका लागि तिनै तहका सरकार, सरोकारवाला निकाय र राजनीतिक दलले पनि चासो नदिएको उनले गुनासो गरे ।
शंकर माली निर्माण सेवाको डिवी कार्कीको ठेक्कामा दिलक रावलले समयमै सडकको स्तर वृद्धि नगर्दा, सडक निर्माणको लागि पिनादेखि गमगढी बजारसम्म काम सुरु नगर्दा मुगाली जनताले सास्ती खेप्नुपरेको सभापति मल्लले बताए ।
स्तरोन्नति नहुँदा वर्खामा सडक अवरुद्ध हुने, बीच बाटोमै सवारी थुनिनु पर्ने, हिलाम्मेले गाडी पास गर्नको लागि ५० देखि ६० हजारसम्म व्यक्तिगत खर्च हुने गरेको व्यापारी रवी रावतले बताए ।
सडक स्तरोन्नति गर्न भन्दै यहाँका स्थानीयको बालीनाली नष्ट हुँदै आएको र सडक समयमा बन्नुपर्छ भनेर आन्दोलन गर्दा पनि सम्बन्धित निकायले सुनुवाइ नगरेको, जनप्रतिनिधिले बेवास्ता गरेको स्थानीय बताउँछन् ।
सडक स्तरोन्नति नहुँदा मुगुमा सवारी साधन बिग्रने गरेको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले जानकारी दिए ।