काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । भदौ १८ गते वडा अधिवेशन सुरु भएर मंसिर अन्तिममा महाधिवेशन सम्पन्न गरेर काँग्रेसले दल दर्ता गरेर वैधानिकता जोगाएको हो ।
०७२ फागुनमा १३ औं महाधिवेशन गरेको कांग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । निर्धारित मितिमा महाधिवेशन नभएर पटक–पटक सारिँदा कांग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो ।
कांग्रेसकै नेताहरु पार्टीको वैधानिकताबारे चिन्तित थिए । तर भदौमा वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियामा प्रवेश गरेपछि निर्वाचन आयोगले कांग्रेस सहुल्यत दियो । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० मा दल दर्ता गर्नुपर्ने भएपछि भने कांग्रेसमाथि महाधिवेशन गर्नै पर्ने दबाब बढेको थियो ।
संविधानको धारा २६९ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम दल दर्ता गर्न भनेको थियो । उक्त कुरालाई मध्येनजर गरी कांग्रेस यही पुस ७ गतेसम्म महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।