बागलुङमा खुल्न थाले विद्यालय
बागलुङमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि ग्रामीण भेगका विद्यालयले भौतिक उपस्थितिमै पठनपाठन सुरू गरेका छन् ।

बागलुङ ।   बागलुङमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि ग्रामीण भेगका विद्यालयले भौतिक उपस्थितिमै पठनपाठन सुरू गरेका छन् । जिल्लाका १० स्थानीय तहका ग्रामीण भेगमा रहेका सामुदायिक तथा निजी विद्यालयले नियमित शैक्षिक क्रियाकलाप सुरू गरेका हुन् । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ नगरपालिकाको बागलुङ बजारमा विद्यालय सञ्चालनको विषय अन्योलमा छन् ।

बागलुङ नगरपालिकाको ग्रामीण भेगमा रहेका विद्यालयमा भने नियमित कक्षा सञ्चालन भएको छ । बागलुङ बजारबाहेक अन्य स्थानीय तह र ग्रामीण क्षेत्रका विद्यालयले विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर पठनपाठन थालेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याले जानकारी दिए ।

‘धेरै विद्यालय आइतबारदेखि सञ्चालन हुँदै छन्’ उनले भने, ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार सञ्चालन गर्न आग्रह गरेका छौँ ।’ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले भने विद्यालय सञ्चालनको रोक लगाएको छ ।

विद्यालय सञ्चालनबारे कोभिड व्यवस्थापन समितिसँग पनि आवश्यक समन्वय गर्ने कार्यालय प्रमुख उपाध्याले बताए ।

गाउँपालिका शिक्षा शाखाले औपचारिक निर्देशन नदिए पनि गाउँगाउँका विद्यालयले पठनपाठन सुरू गरेको काठेखोला गाउँपालिकाका स्रोत व्यक्ति रमानन्द कँडेलले बताए ।
‘स्वास्थ्यम मापदण्डको पालना गरी विद्यालय नियमित गरेका छौँ’, काठेखोला गाउँपालिका–२ भीमापोखराको शिवालय आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम केसीले भने, ‘अभिभावकसँगको छलफल गरी विद्यालय सुरू गरेको हो ।’

कक्षाकोठामा भौतिक दूरी व्यवस्थापन, मास्क, स्यानिटाइजर अनिवार्य गरेको उनले बताए । अनलाइन कक्षा विपन्न परिवारका विद्यार्थीलाई उपयोगी नभएको केसीको भनाइ छ ।
‘विपन्न परिवारसँग भिडियो चल्ने मोबाइल छैन’, उनले भने, ‘मोबाइल भए पनि गाउँमा राम्रोसँग इन्टरनेट चल्दैन ।’

बागलुङ नगरपालिकाले पनि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलका अनुसार भिडभाड नहुने गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने तयार भएको हो । जिल्लामा हाल ८७ जना कोरोना संक्रमित छ । संक्रमितमध्ये अधिकांश बागलुङ नगरपालिकाका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.