काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सर्लाहीको ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको छ ।
प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि सोलाई दबाउन जिल्ला प्रहरी कार्यालयले ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको हो ।
इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका वडा नम्बर ७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका-५ का महतोको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते उनको उपचार गर्दागर्दै राति नै मलंगवा अस्पतालमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय निषेधाज्ञाका लागि जारी गरेको सूचनामा मंगलबार दिउँसो ३ बजेदेखि बुधबार राति ७ बजेसम्म ओहोरदोहोर गर्न नपाइने उल्लेख छ ।
इलाका प्रहरी कार्यालय केशरजंगबाट पूर्व ईश्वरपुर नगरपालिकाको वडा नम्बर ४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुरको वडा नम्बर ८ रामपुर टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय केशरजंगबाट उत्तर ईश्वरपुर नगरपालिकाको वडा नम्बर ५ सखुबानी टोलसम्म तथा दक्षिणमा वडा नम्बर ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।
प्रहरीको गाडीले ठक्कर दिँदा स्थानीय व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय वासिन्दाले लगातार प्रदर्शन गर्दै आएका छन् । सोमबार स्थानीय वासिन्दाले प्रहरीको गाडीसमेत जलाइदिएका थिए ।