काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन चलिरहेको छ ।
काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल गरेका छन् ।
अब केही बेरमा टोली नेताले आफ्नो समूहबाट प्राप्त सुझाव प्रस्तुत गर्नेछन् । र सोको निचोडका आधारमा प्रतिवेदनलाई परिमार्जनसहित पास हुनेछ ।
बहुपदीय अवधारणामा गएको माओवादी केन्द्रले १५ जना पदाधिकारी र २२९९ केन्द्रीय कमिटी सदस्य चयन गर्ने छ ।
यसका अलावा केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरु समावेश गर्ने भनिएको छ ।
माओवादीको शीर्ष नतृत्वले पुराना वा संसदवादी दलजस्तो आफूहरुमा पदको भागवण्डा नहुने र त्यसका लागि नकुद्ने औपचारिक रुपमा बताउँदै आएका छन् तर आन्तरिक रुपमा भने पदाधिकारी र केन्द्रीय नेतृत्वमा पुग्न लविङ गरिरहेका छन् ।
सबैभन्दा पेचिलो बन्दै महासचिव चयन
वामपन्थी पार्टीमा बहुपदीय प्रणाली हुँदा पनि महासचिवलाई शक्तिशाली मानिन्छ र आगामी समयका लागि पार्टी नेतृत्वको एक खालको उत्तराधिकारी ।
त्यसैले माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।
तीन दशकदेखि पार्टी नेतृत्वमा रहिरहेको भन्दै प्रचण्डको आलोचना भइरहँदा उनले अब पाँच वर्षपछि हुने महाधिवेशनमा फेरि दाबी नगर्न सक्ने सम्भावना पनि बलियो रहेको तर्क गरिएको छ ।
हुन त प्रचण्डले नै यसपछि आफूले नेतृत्व हस्तान्तरण गर्ने खालको अभिव्यक्ति दिइसकेकाले महासचिव को हुने भन्ने विषय नेता कार्यकर्तामाझ जति चासोको विषय बनेको छ त्यो भन्दा धरै पेचिलो प्रचण्डलाई रहेको छ ।
आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान पुन मध्ये कसलाई वा त्यसबाहेक पम्फा भुसाल वा अन्य कसैलाई भन्ने निर्णय प्रचण्डले गर्नुपर्ने भएको छ ।
दुवैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहँदा पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएका छन् ।
उपचारका क्रममा रहेर महाधिवेशनमा सहभागी हुन नपाएका पुनले चीनका शक्तिशाली नेतालाई भेटेर प्रचण्डमाथि दबाब बढाएको कतिपयले अनुमान गरेका छन् ।
यता जनार्दन प्रचण्डमाथि दबाब दिन सक्ने क्षमता राख्छन् । महासचिवमा कुरा मिलेन भने चुनावमै जानु पर्नेमा उनको जोड रहेको स्रोतको दाबी छ ।
प्रचण्डको चाहना हेटौँडा मोडल
तर, अध्यक्ष प्रचण्डले भने जारी महाधिवेशनबाट आफू अध्यक्ष र अन्य केन्द्रीय सदस्यमात्र चयन गर्ने तयारी गरेका छन् ।
पछि केन्द्रीय समितिबाट पोलिटव्युरो र स्थायी कमिटी र पदाधिकारी तोक्ने तयारी उनको छ ।
यसअघि हेटौंडामा सम्पन्न ७ औं महाधिवेशनमा पनि यस्तै गरिएको थियो ।
त्यसो गर्न सकिएको खण्डमा जनार्दनलाई मन्त्रीको जिम्मेवारी निरन्तर दिएर अन्यत्रै व्यवस्थापन गर्ने र पुनलाई महासचिवको जिम्मेवारी दिन सक्ने सम्भावना रहेको पुन पक्षका नेताहरुको तर्क छ ।
तर, जनार्दनलाई पनि टाढा पार्न प्रचण्डले चाहेका छैनन् । त्यसैले दुई मध्ये एक छान्नु भन्दा तेस्रो पक्षमा उनी जान सक्ने सम्भावना पनि बलियो रहेको माओवादीका एक स्थायी समिति सदस्यले बताए ।