आजदेखि मौसममा सुधार आउने

काठमाडौं । आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने  र दिउँसो घाम लाग्ने आँकलन महाशाखाका मौसमविद्ले गरेका हुन् ।

यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । बिहान देशभर आंशिक वर्षा छ । थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

शुक्रबार गण्डकी र प्रदेश १ एक वा दुई स्थानमा हल्का वर्षा र ती प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.