काठमाडौं । नेपाल सरकारले भारतलाई नेपाली भूमिमा सडक निर्माण कार्य रोक्न आग्रह गरेको छ ।
आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो आग्रह गरेका हुन् ।
महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको कार्कीले बताएका छन् ।
नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए ।
दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।
लिम्पियाधुरालगायत विवादित भूमिमा विकास निर्माण कार्य भइरहेको भनी नरेन्द्र मोदीले विवादित अभिव्यक्ति र नेपालस्थित भारतीय दूतावासको विज्ञप्तिपछि नेपालले आइतबार सो आग्रह गरेको हो ।