अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्छ : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेका छन् । 

समाजवादी र नेकपा माओवादीले सबै तहको चुनाव एकैपटक गर्नुपर्छ भनी प्रस्ताव अघि सारिरहेका बेला मन्त्री खतिवडाले सोमबार समाजवादी प्रेस संगठन मोरङद्वारा आयोजित  पत्रकार सम्मेलनलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।

सो क्रममा खतिवडाले भने, ‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’

विपक्षी दल नेकपा एमालेले सत्तासीन दलमाथि स्थानीय तहको चुनावबाट भागेको आरोप  लगाइरहेको छ ।

केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन केन्द्रित सर्वदलीय बैठक बोलाएको थियो ।  

२०७९ साल जेठ ५ गते स्थानीय तहका प्रतिनिधिको समयावधी सकिँदै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.