काठमाडौँ । सुनको अवैध चोरी पैठारीमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मी मुछिएका छन् । रेग्मीले अवैध सुन ल्याएर जरिजाना तिरेको पुष्टि भएको हो । उनले अअवैध सुन ल्याएर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा जरिमाना तिरेको कार्यालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि छानबिन गरिरहेको छ । सोहीक्रममा भन्सार कार्यालयले रेग्मी सुनको अवैध चोरी पैठारीमा दोषी ठहर भएको जानकारी मन्त्रालयलाई गराएको हो ।
भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध रहेको उल्लेख छ । उनले सो घटनामा १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिरेको उल्लेख गरिएको छ ।
मन्त्री आले र सिईओबीच शुरुदेखि नै राम्रो सम्बन्ध थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको भन्दै सीईओ रेग्मीलाई मन्त्री प्रेम आलेको ठाडो आदेशमा उनलाई सिईओको कार्यभारबाट निलम्बन गरेको थियो । तर उनलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।
