काठमाडाैं । कारोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण तीव्ररुपमा फैलँदै गएपछि सरकारले सोमबारबाट काठमाडौंमा कारोना भाइरसविरुद्धको बुस्टरडोज खोप दिइरहेको छ ।
सरकारले काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टरडोज खोप दिइरहेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार बुस्टरडोज खोप लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ।
सरकारले प्राथमिकतामा स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई राखी बुस्टर डोज खोप दिने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार काठमाडौं उपत्यकामा पौष २७ गतेबाट ‘स्मार्ट लकडाउन’ गरिएको थियो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट उक्त आदेश जारी गरिएको हो ।
जारी आदेशमा उपत्याकाका कुनैपनि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख छ ।
तर, सोमबारबाट खोपकेन्द्रहरुमा दिँइदै गरिएको कारोना भाइरस विरुद्धको बुस्टरमात्राको खोप लगाउनेको व्यापक भिडले जारी आदेशको उल्लंघन भएको देखिएककाे छ ।
मानिसहरूबीच आपसमा दूरी नहुँदा खोप लगाउने ठाउँबाटै सङ्क्रमित हुनसक्ने खतरा देखिएको छ । खोपकेन्द्रको लाइनहरू व्यवस्थित गर्न प्रहरी खटाइएपनि भिडभाड कम हुन सकेको छैन । सरकार आफैले जारी गरेको आदेशप्रती असक्षम देखिएको छ ।
प्रहरी प्रवक्ता विष्णु कुमार के.सी.ले खोप केन्द्रका लाइन व्यस्थापन गर्ने सवालमा प्रहरीहरु खटिरहेको बताएका छन् ।
उनले खोप लगाउन आउनेहरुको संख्या पनि एकदमै बढ्दो रहेको र आउनेलाइ फर्काउन पनि नसकिने भएकाले भिड व्यवस्थापन गर्नुको विकल्प नरहेकाे बताए ।
प्रवक्ता के.सी.ले खोप लगाउन आएकाहरुलाइ दुरी कायम गर्ने, माक्स अनिर्वाय लगाउने, सेनिटाइजर लगाउने कुरामा सम्झाइ बुझाइ गरी सबैजना जुरुप्प भएर एकैठाउँमा नबसि लाइन बद्ध भएर खोप लगाउन अनुरोध गर्दै प्रहरीहरुले भिड व्यस्थापनमा सहयोग गरिरहेका बताए ।