काठमाडौं । नेपालमा देशभर फाइभजी परीक्षण तयारी भएको छ । फाइभजी परीक्षणको लागि अनुमति पाएको नेपाल टेलिकमले उपकरण ल्याउने तयारी गरेको हो।
फाइभजी परीक्षणको लागि आपूर्तिकर्तासँग छलफल भई प्रस्ताव आउने तयारी भइरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत चैतमा टेलिकमलाई फाइजभी परीक्षणसम्बन्धी कार्ययोजना पेश गर्न आह्वान गरेको थियो ।
टेलिकमले फाइभजी सेवा सञ्चालन गर्न उपयुक्त फ्रिक्वेन्सीको सिफारिससहित फाइभजी परीक्षणसम्बन्धी कार्ययोजनासहितको प्रतिवेदन जेठमा प्राधिकरणमा पेश गर्यो ।
फाइभजी सेवा परीक्षणको लागि नेपाल दूरसञ्चार प्राधिकरणले हाललाई २६ सय मेगाहर्ज ब्यान्डमा परीक्षण गर्न नेपाल टेलिकमलाई स्वीकृति दिएको छ ।
नेपाल टेलिकमले उपकरण ल्याई ३ वटा सहरमा फाइभजी परीक्षणको तयारी गरेको छ। फाइभजी परीक्षणको लागि निजी क्षेत्रको ठूलो सेवा प्रदायक एनसेलले अनुमति माग गरे पनि प्राधिकरणले टेलिकमलाई मात्रै दिएको छ ।
टेलिफोन मार्केट सेयरमा ९८ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् भने २ प्रतिशत मात्रै फिक्स लाइन प्रयोगकर्ता छन्। पछिल्लो तथ्यांकअनुसार ब्रोडब्यान्डमा मोबाइल हिस्सा ७४.६३ र फिक्स्ड वायर २४.७७ फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ता छन् ।
मोबाइल ब्रोडब्यान्डमा नेपाल टेलिकमका १ करोड ९२ लाख ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये १ करोड १ लाख ६८ हजार र फोरजी प्रयोगकर्ता ७४ लाख मात्रै छन् ।
एनसेलका ग्राहकमध्ये अधिकांश फोरजी प्रयोगकर्ता रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ। एनसेलका ८४ लाख ३२ हजार ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये ६१ लाख ४८ हजार फोरजी र २२ लाख ८३ हजार थ्रिजी प्रयोगकर्ता छन् ।
स्मार्ट सेलका १५ लाख ३७ हजार फोरजी प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ ।
टेलिफोन सर्भिसमा सेवा प्रदायकको हिसाबले टेलिकमको बजार हिस्सा ५४.२१ प्रतिशत छ भने एनसेलको ४० प्रतिशत बजार हिस्सा छ। स्मार्टसेलको ५.७० प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको तथ्यांकसँग तुलना गर्दा टेलिकमको बजार हिस्सा केही बढेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा नेपाल टेलिकमको ५२.४७ प्रतिशत, एनसेलको ४१.५७ प्रतिशत, स्मार्ट टेलिकमको ५.९५ प्रतिशत बजार हिस्सा रहेको थियो ।
टेलिफोनमा एनटीसीका ग्राहक सबैभन्दा बढी छन्। गत आर्थिक वर्षसम्म नेपाल टेलिकमका ग्राहक २ करोड ६० हजार रहेकोमा गत कात्तिकसम्म बढेर २ करोड २५ लाख पुगेका छन् ।
त्यस्तै एनसेलका गत असारसम्म १ करोड ६३ लाख ग्राहक रहेकामा कात्तिकसम्म १ करोड ६६ लाख ५८ हजार पुगेका छन्। स्मार्ट सेलको असारसम्म २३ लाख ३७ हजार हजार ग्राहक रहेकोमा कात्तिकसम्म २३ लाख ६७ हजार रहेका छन् ।