काठमाडौं । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुल्ला रक्तदान अभियान आयोजना गर्ने भएको छ ।
कोभिड–१९ का कारण उत्पन्न रगत अभावको समस्यालाई समाधान गर्न सहयोग पुराउने लक्ष्यका साथ युवा संघ नेपालले सप्ताहव्यापी रुपमा रक्तदान कार्यक्रम संचालन गर्न लागेको संघका अध्यक्ष एंव नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेलले क्विक नेपाललाई बताए ।
भोली भक्तपुर बालकोटबाट शुरु हुने रक्तदान कार्यक्रम एक हप्तासम्म चल्ने युवा संघ नेपालले जनाएको छ । भक्तपुरको बाल्कोट र सुर्यविनायक, ललितपुरको जावलाखेल र पूल्चोकमा पनि रक्तदान कार्यक्रम संचालन हुनेछ ।
यस्तै काठमाडौंको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर, कलंकी, माईतीघर मण्डला, न्युरोडलगायतका ठाउँहरुमा रक्तदान अभियान संचालन हुने अध्यक्ष पौडेलले बताए । एक हप्तासम्म उपत्यकाको १५ बढि स्थानमा रक्तदान अभियान संचालन हुन लागेको हो ।
राजनीतिक अस्थिरताकाविरुद्ध खबरदारी अभियानसँगै निरन्तर क्रियाशिल कार्यक्रम र अभियानमा अग्रपंक्तीमा रहेको युवा संघ नेपालले हजारौं मानव साङ्लो र हजारौं संख्यामा एकै पटक वृक्षारोपण कार्यक्रम गरेर चर्चा बटुलेको थियो । यस्तै गतिविधिका कारण पछिल्लो समय युवा संघप्रति युवाहरुको आकर्षण बढ्दो छ ।