एमसीसी संशोधनसहित पास गर्न प्रचण्डको प्रस्ताव 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अहिले बालुवाटारमा छलफलमा व्यस्त छन् । एमसीसीको विषयलाई लिएर तीन नेताहरुबीच पछिल्लो समय भेटघाट र छलफल बाक्लिएको छ ।

कुनै पनि हालतमा एमसीसी पास गर्नैपर्ने चूनौती प्रधानमन्त्री देउवालाई आइपरेपछि उनी एमसीसी पास गर्न पुरा बल लगाएर लागि परेका छन् । एमसीसी पास नगर्ने भए गठबन्धन टुट्न सक्ने चेतावनी दिँदै देउवाले प्रचण्ड र नेपाललाई साइजमा ल्याएका छन् ।

माओवादी पार्टीभित्र अझैपनि एमसीसीको सम्बन्धमा फरक मत रहेको पाईन्छ । जस्ताको तस्तै एमसीसी पास गर्न नसक्ने माओवादी भित्र आवाज ठूलो आएपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासामु संशोधनको प्रस्ताव पेश गरेका छन् ।

प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डले एमसीसीसँगै स्थानीय तहको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर हुनुपर्ने प्रस्ताव पनि पेश गरेका छन् । सदनमा दर्ता भएको एमसीसी अबको प्रतिनिधि सभाको बैठकमा टेबुल हुने बालुवाटार स्रोतले बताइएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.