भक्तपुर । कोरोना संक्रमणका कारण देशैभर विरामीहरुको चाप बढिरहेको अवस्थामा रगतको कमी हुन गएको र त्यसको सहयोगको लागि भन्दै सप्ताहव्यापी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालय भक्तपुरको ध्यानाकर्षण गरेको छ ।
युवा संघको भक्तपुर शाखाले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध परेको उजुरीको विवषयमा ध्यानाकर्षण गराएको हो । केही दिन अघि राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको बालकोटबाट सप्ताहव्यापी खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा प्रमूख अतिथीको रुपमा उपस्थित भएका अध्यक्ष ओलीकोविरुद्ध संक्रामक रोग ऐन, २०२० अन्तर्गत कार्वाहीका लागि भन्दै स्थानीय अभिजित अधिकारीले उजुरी गर्ने बताइएको थियो । उजुरी भक्तपुर प्रशासनमा गर्ने भनिएता पनि उजुरी दर्ता भएको नभएको प्रशासनले जानकारी गराइएको भने छैन ।
सोही विषयलाई लिएर युवा संघ भक्तपुरले अध्यक्ष ओलीको विषयमा गलत प्रचारसहित उजुरी गर्न लागेको भन्दै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको हो । संघले रगतको अभावलाई महशुस गर्दै रक्तदान गरेको कार्यक्रमलाई गलत प्रचार गर्दै पाँचदिन आइसोलेसनमा रहेका अध्यक्ष ओलीले आफ्नै प्राङ्गनमा गरेको कार्यक्रममा शुभकामना दिन आउँदा गलत अफवाह फैलाएको भन्दै त्यस्तो उजुरी तत्काल खारेज गर्न ध्यानाकर्षण गराएको छ ।
संघले विज्ञप्ति समेत सार्वजनिक गरेको छ । जसमा स्वास्थ्य मापदण्डसहित गरेको कार्यक्रमको वारेमा अफवाह फैलाएको उल्लेख गरेको छ । अध्यक्ष ओली पाँच दिन आइसोलेसन बसेर आफ्नै निवासको प्राङ्गनमा भएको रक्तदान कार्यक्रमलाई शुभकामना दिन प्रमूख अतिथीको रुपमा स्वास्थ्य मापदण्ड सहित पुगेको विज्ञप्तिमा उल्लेख छ ।
साथै युवा संघ भक्तपुरले स्थानीय तहको निर्वाचन आयोगले भनेकै समयमा तोक्न दबाबसहित जिल्ला प्रशासन मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । मन्त्री रेणु कुमारीले ज्यान मार्ने धम्की दिएको विषयमा पनि संघले ध्यानाकर्षण गराएको छ ।
यस्तै पेट्रोलियम पदार्थमा भएको मूल्युवृद्धिको विषयमा पनि विरोध जनाएको छ । २४ लाख खोप लुकाएको र लिमपियाधुरा–कालिपानी–लिपुलेक फिर्ता ल्याउन सरकारले पहल नगरेको भन्दै ध्यानाकर्षण गराएको पनि विज्ञप्तिमा उल्लेख छ । संघले छुट्टाछुट्टै दुई वटा विज्ञप्ति सार्वजनिक गरेको छ ।

