स्थानीय तहको निर्वाचनको तयारी शुरु भइसक्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ४ मै हुनेमा विश्वस्त रहेको जनाएको छ ।

निवार्चन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले सिफारिस गरेको मितिमा नै निर्वाचन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । ‘प्रधानमन्त्री देउवाले नै जेठ ४ मा घोषणा गरिसक्नु भएको छ, सो कुरा नहुनेमा दुविधा छैन,’ उनले  क्विक नेपालसँग भने । 

उनले सोही सन्दर्भमा निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनको लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको समेत खुलाए ।  

निर्वाचन आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो ।

प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी तरङ्ग पैदा भएको छ ।

सोही अनुरुप बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न  सुरक्षा निकायलाई गृहमन्त्रालयले निर्देशन दिसकेको छ ।

गृह मन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको बताए । ’पहिलाको निर्वाचनलाई आधार मानेर कति जनशक्ति चाहिन्छ त्यस्को स्टमेट बनाउन निर्देशन दिएको,’ गृह मन्त्रालयका प्रवक्ता पोखरेलले क्विक नेपालसँग भने ।

निर्वाचन मिति तोकेको बढीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगका प्रवक्ता पौडेलले बताए ।

‘चुनावको मिति घोषणा भएको दुई तीन दिनमा कार्यतालिका आउँछ,’ उनले भने, ‘अहिले हामी आन्तरिक गृहकार्य गरिरहेका छौँ ।’ निर्वाचनको मिति घोषणा नभई निर्वाचन कार्यतालिका ल्याउन नमिल्ने उनको भनाइ छ । ‘नेपाल सरकारले  निर्वाचनको मिति घोषणा नगरि हामीले कहि गर्न मिल्दैन, मिति घोषणा गर्नुभन्दा अगाडि गर्नुपर्ने काम गरिरहेका छौँ,’ पौडेलले भने ।

मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन लगायतका विषय निर्वाचन कार्यक्रममार्फत ल्याइनेछ ।

पौडेलका अनुसार निर्वाचन आचारसंहिता पनि निर्वाचनको मिति घोषणा गर्दैमा लाग्ने छैन । निर्वाचनको मिति घोषणा गरेपछि पनि निर्णय र नियुक्तिमा आचारसंहिता लागू नभएसम्म कुनै फरक नपर्ने पौडेलले बताए । उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्दैमा निर्वाचन आचारसंहिता लाग्दैन ।’

स्थानीय तहको निर्वाचनका लागि कति दिने आचारसंहिता जारी गर्ने भन्ने अहिले नै भन्न नसकिने उनको भनाइ छ । ‘आचारसंहिताका लागि समय तोक्दा बदलिँदो परिस्थितिलाई मध्यनजर गर्नुपर्ने हुन्छ । निर्वाचनको जोखिम र गम्भीरता विश्लेषण गरेर आयोगले आचारसंहिताको दिन तलमाथि गर्न सक्छ ।’

‘निर्वाचन हुन ३५ दिन, ४० दिन वा ५० दिनको बाँकी रहँदा निर्वाचन आचारसंहिता लगाउँछ । आवश्यकता परेन भने त्यो भन्दा कम दिन पनि आचारसंहिता लगाउन सकिन्छ ।’ उनले भने ।

निर्वाचनलाई प्रभावित हुने अवस्था हेरेर आचारसंहिताको समय तोकिने पौडेलको भनाइ छ । स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन के–केले बाधा पुर्याउँछ भनेर निर्वाचन आयोगले विश्लेषण गर्छ । त्यही अनुसार आचारसंहिता लगाउँछ ।

उनका अनुसार आचारसंहिता कहिलेदेखि लाग्ने भन्ने कुरा निर्वाचन कार्यतालिकामा आउँछ । यसअघि सरकार, राजनीतिक दल र मिडियासँग आवश्यक राय सल्लाह गरेर मात्र आयोगले काम गर्ने उनले बताए ।

अब बस्ने मन्त्रिपरिषद्बाट निर्वाचनको मिति घोषणा हुने छ । यसका लागि बुधबार प्रधानमन्त्री र गृहमन्त्रीले राजनीति भेटघाटलाई तीव्र बनाएका थिए ।

हिजो गृहमन्त्री खाँणले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालको निवासमै पुगेर भेट गरेका थिए । मंगलबार साँझ उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका थिए ।

त्यस्तै बुधबार प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा विहान बेलुका गरी दुईदुई पटक छलफल भएको थियो ।

सत्ता साझेदार दलका अध्यक्षद्वय प्रचण्ड र नेपालसँग परामर्श गरेर बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्न लागिएको थियो तर बिहविार मन्त्रिपरिषद् बैठक बस्न सकेन  ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.