एजेन्सी । टर्की र ग्रीसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार टर्की र ग्रीसको सीमा इप्सालामा चिसोले कठ्यांग्रिएर आप्रवासीको मृत्यु भएको हो ।
मन्त्री सोयुलुका अनुसार अहिलेसम्म मृतकहरु कुन देशका हुन् भन्ने खुल्न सकेको छैन । बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् । कतिपय आप्रवासी जुत्तारचप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको पाइन्छ । ग्रीसको सीमा बलले २२ जनाको आप्रवासीहरूको समूहविरुद्ध ठगले झैं काम गरेको मन्त्री सोयुलुको भनाइ छ । मृत्यु हुनेहरू त्यही २२ जनाको समूहका व्यक्ति भएको उनले जानकारी दिएका छन् । उनले युरोपेली युनियनले पनि मानवीय व्यवहार नदेखाएको आरोप लगाएका छन् ।
इप्साला ग्रीसको सीमानजिकै रहेको सहर हो, जुन अवैधानिक रूपमा युरोप प्रवेश गर्न चाहनेहरूको रुट पनि हो । पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ ।