काठमाडौं । सरकारले निर्वाचनको मिति तय गरेसँगै जनमत पार्टीले भने औपचारिक रुपमै निर्वाचनको तयारी थालेको छ ।
पार्टी अध्यक्ष सीके राउतले उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएका छन् ।
‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय होइन’, अध्यक्ष राउतले सो परिपत्र जारी गर्दै भनेका छन्, ‘अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसलाई मूल्याङ्कन गरेर गर्नेछ ।’ आगामी फागुन १५ सम्ममा उम्मेदवारहरूको नाम सिफारिस गर्न म्याण्डेटसहित निर्देशन दिइएको छ ।
नेपाल सरकारले वैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा राजनीतिक दलहरुको सक्रियता ह्वात्तै बढेको हो । जनमत पार्टी सँगै अन्य दलहरु पनि स्थानीय निर्वाचनको तयारीमा जुट्न थालेका छन् ।
मधेस प्रदेशका अधिकांश जिल्लामा विभिन्न दलहरुले पार्टीको स्थानीय कमिटी गठन, भेला देखि जिल्ला र प्रदेश अधिवेशन हुँदै महाधिवेशन गरेपनि केहि दलले भने अहिलेसम्म पनि जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न सकेको छैन ।