काठमाडौं । लोकसेवा आयोगले खामबन्दी गरेर पठाएको जिल्ला न्यायाधीशहरूको नतिजा अझै प्रकाशन हुन सकेको छैन । न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायाधीशको नतिजा प्रकाशन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि नतिजा प्रकाशन अन्योलमा परेको हो ।
सो बैठकमा प्रधान न्यायाधीश र लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी मात्रै उपस्थित थिए । आयोगका कर्मचारीले न्यायाधीश कार्की र महान्यायाधिवक्तालाई कार्यालयमा निर्णय पुस्तिका लगेर हस्ताक्षर गरिदिन आग्रह गरेका थिए । तर, उप–सचिव र सह–सचिवको बढुवा तथा पदस्थापन सम्बन्धी निर्णयमा मात्रै हस्ताक्षर गरेका उनीहरूले जिल्ला न्यायाधीशको नतिजा प्रकाशन गर्ने निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
अहिले २० जनाभन्दा बढी जिल्ला न्यायाधीशको दरबन्दी खाली छ । नयाँ विज्ञापन गर्नुपर्ने बेला भैसकेको अवस्थामा पुरानो नतिजा प्रकाशन र अन्तर्वार्ताको तालिका सार्वजनिक नहुँदा अन्योल थपिएको छ ।