काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पछिल्लो समय सरकारविरुद्ध देशैभर चर्को विरोधको कार्याक्रम जारी राखेको छ । देशैभर जिल्ला शाखाहरुले सरकार विरुद्ध सडक तताएका छन् ।
स्थानीय निर्वाचनको मितिसहित अन्य मागहरु राखेर सरकारको विरोध शुरु गरेको संघले निर्वाचनको मिति तय गरेपछि स्वागत गरेको थियो । तर पनि आन्दोलन भने निरन्तर जारी राखेको छ ।
विहीवार युवा संघका महलिा प्रतिनिधिहरुले राजधानीमा प्रदर्शन गरेको छ । सरकारको चर्को आलोचना गर्दै स्वास्थ्य मन्त्री विरोध खतिवडा, भौतिक योजना तथा यातायात मन्त्री रेणु यादव, सभामुख अग्नी सापकोटालगायतको राजिनामा माग गर्दै युवा संघका महिला प्रतिनिधिहरुले पहिलो पटक सडक तताएका हुन् ।
युवा संघसँग संलग्न महिला प्रतिनिधिहरुले विरोध लेखिएको कालो टि–शर्ट र कालो पट्टि बाँधेर आन्दोलन जारी राखेका छन् । नेपाली भूमि फिर्ता गर्न नसकेको भन्दै सरकारविरुद्ध नाराजुलुस गरेको संघले पेट्रोलियम पदार्थमा वृद्धि भएको मूल्यलाई फिर्ता लिनपनि माग गरेको छ ।
पुरुषहरु मात्रै राष्ट्रिय राजनीतिमा अगाडी देखेको भन्दै देशमा समस्या आउँदा र सरकार जनताको जनभावना विपरित गएर लापरवाही गर्दा महिलाहरु पनि सडकमा आएर आन्दोलन गर्न सक्ने भन्दै सञ्देश दिन युवा संघका महिला विभागले विरोधको कार्यक्रम आयोजना गरेको राष्ट्रिय युवा संघ नेपालका प्रचार प्रसार संयोजक माहाराज गुरुङले बताएका छन् ।
विहीवार नै युवा संघले देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेको छ । काभ्रेमा सभामुख अग्नी सापकोटालाई कालो झण्डा देखाउँदा युवा संघका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडपको स्थिती समेत बनेको थियो । त्यस लगतै काभ्रेमा प्रहरी, सशस्त्र र सेना परिचालन गरेको छ, क्विक नेपालसँग कुरा गर्दै युवा संघका अध्यक्ष एंव नेकपा एमालेका केन्द्रीय सदस्य किरण पौडेलले बताए ।












