देउवाको प्रस्ताव  प्रचण्ड–नेपालद्धारा अस्विकार, छलफल निष्कर्ष विहीन  

काठमाडौं । पुष्पकमल दाहाल  र  माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई फागुन २ का लागि तोकिएको प्रतिनिधि सभाको बैठक सार्न आग्रह गरेका छन् । 

शनिबार बालुवाटारमा तीन शीर्ष नेताबीच भएको छलफलमा नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई फागुन २ गते प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित हुन नसक्ने भएकाले संसद् बैठक फागुन ४ गते राख्न सुझाव दिएका हुन् । 

सो  बैठक बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा सत्तारुढ गठबन्धनका दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘अब ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गरौँ । त्यहीँ आ–आफ्नो धारणा राखौँ । त्यहीँबाट यसको छिनोफानो गरौँ ।’ 


तर, नेताद्वय प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेका थिए । एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा रहेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.