घटना उस्तै : चौधरी कारागारमा, सापकोटा सभामुखमा

एकातिर सभामुख सापकोटाले आफूमाथि लागेको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रुपमा हेरिनुपर्ने भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । अर्कोतिर टीकापुर घटना किन राजनितिक मुद्दा बन्न सकेन भनी चौधरीले प्रश्न गर्दै आएका छन् ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामाथि लागेको व्यक्ति हत्याको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । सोही प्रकृतिको मुद्दामा जनता पार्टी नेपाल (जसपा) बाट सांसद बनेका रेशमलाल चौधरी डिल्लीबजार कारागारमा सजाय भोगिरहेका छन् ।

सभामुख सापकोटा र सांसद चौधरी दुवैको घटना प्रकृति एकै किसिमका हुन् । दुवै मुद्दाको न्याय दिने निकाय अदालत हो । यतिखेर दुबै मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । तर, एक आरोपी सभामुखको रुपमा प्रतिनिधिसभा चलाइरहेका छन् भने अर्का आरोपी न्याय मागिरहेका छन् ।

एकातिर सभामुख सापकोटाले आफूमाथि लागेको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रुपमा हेरिनुपर्ने भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । अर्कोतिर टीकापुर घटना किन राजनितिक मुद्दा बन्न सकेन भनी चौधरीले प्रश्न गर्दै आएका छन् ।

आफ्नो हकहित र अधिकारको माग गरेकै भरमा आफूमाथि राज्यले दमन गरेको चौधरीको भनाइ छ । यत्तिका वर्षसम्म सर्वाेच्चले आफ्नो मुद्दालाई विचाराधीनमा राख्नु र निर्णय दिन नसक्नुमा सरकारको स्वार्थ लुकेको उनको बुझाइ छ ।

देशमा परिवर्तन ल्याउन विस २००७ देखि हालसम्मका आन्दोलनमा आदिवासी जनजाति र मधेशीले आहुति दिँदै आए पनि राज्यका कानून अफ्नो समुदायको हितमा बन्न नसकेको मधेशवादी दलको विश्लेषण छ ।

समानुपातिक समावेशिता, धर्मनिरपेक्षताको मूल मर्मविपरीत जबरजस्ती जारी भएको संविधानले न्याय दिनेमा मधेशवादी दलहरु शशंकीत छन् । जसको कारण हरेक बर्ष संविधान दिवसको दिनलाई मधेशवादी दलले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

२०७४ मा कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शपथ लिएर सांसद चौधरी जेल जीवन बिताइरहेका छन् । कानून बलियो र समान रुपमा न्यान दिन बनेको हो भने राज्यले चौधरीको निर्दाेषपन देख्नुपर्ने मधेशवादी दलको माग छ ।

सबै नेपालीलाई लक्षित गरेर संविधान बन्न नसकेको नेता राजेन्द्र महतोको भनाई छ । उनले मधेशका जनताले अझै संविधानलाई स्विकार्न नसकेको दावी गरे । ‘यो संविधान अनौठो किसिमको छ । संविधानले त सबैलाई उहि अधिकार र समानता दिएको हुन्छनी हैनर ? अब हेर्नुस् त हाम्रा नेता रेशम चौधरी जेल जीवन बिताईरहनु भएको छ ।

यता उस्तै घटनाका आरोपी अग्नी सापकोटा संविधान कार्यन्वयन गर्ने निकायमा सभामुख हुनुहुन्छ । यो हाँस्यास्पद कुरा हैन । अनि यस्तो संविधानलाई कसरी हामीले राम्रो संविधान भन्ने ?’ नेता महतोले क्विक नेपालसँग भने ।

 

चौधरीसँग जोडिएको घटना
२०७२ भदौ ७ गते कैलालीको टीकापुर थरुहट प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरी एसएसपीसहित आठ जनाको मृत्यु भएको थियो ।

घटनाको मुख्य योजनाकार भन्दै रेशमलाल चौधरीसहित ५८ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्यो भने उच्च अदालत दिपायलले ०७७ पौष २ गते चौधरीसहित सातजनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

 

सापकोटामाथि जीउँदै मान्छे पुरिएको अभियोग
सभामुख अग्निप्रसाद सापकोटामाथि काभ्रेका अर्जुन लामालाई जीउँदै पुरेको अभियोग छ । लामाकी श्रीमतीका अनुसार २०६२ सालमा लामा आफैँलाई खाल्डो खन्न लागाइ जीउँदै पुरिएको थियो । २०६९ मा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएको समयमा लामाकी श्रीमतीले सापकोटाविरुद्ध मुद्दा दायर गरेकी थिईन् ।

जिल्ला अदालत र पुनरावेदन अदालतबाट सभामुख दोषी ठहर भए पनि सर्वोच्चमा सो मुद्दा विचाराधीन छ । सापकोटा सभामुख बन्दै गर्दा हत्या अभियोग लागेका सापकोटालाई सभामुख बनाउनु हुँदैन भनी सर्वोच्चमा रिट दायर भएको थियो । यी सबै मुद्दा विचाराधीन छ । सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेको बताउँदै यस विषयमा आफ्नो धारणा केही नरहेको बताउँदै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.