संविधान संशोधनमा कन्जुस्याँइँ : राजेन्द्र महतो, वरिष्ठ नेता, लोसपा
संविधानसभाबाट २०७२ मा असन्तुष्टिकै बीच संविधान जारी गरियो । संविधान कार्यान्वयन भए पनि आज मधेसी जनता संविधानप्रति सन्तुष्ट छैनन् । नेपाली जनताले आफ्नो संविधानको अनुभुत गर्न सकेका छैनन् । संविधान जारीका क्रममा विश्वकै उत्कृष्ट संविधान भनियो । अधिकांश सहरमा दीप प्रज्वलन भयो । तर, मधेशले कालो दिनको रुपमा मनाएको थियो ।
आज पनि सोही दिनको रुपमा मनाइरहेको छौँ । अहिले हामी देखिरहेका छौँ । विगतमा कस्तो संविधान कस्तो ल्याइएको रहेछ भनेर । यसको सीधा अर्थ हो देशले एक थान संविधान मात्रै पाएको छ । हाम्रो मुद्दा राष्ट्रिय मुद्दा हो । यसलाई सरकारले एकल मधेसी मुद्दाको रुपमा नहेरोस् । जबसम्म सरकारले हाम्रा मुद्दालाई संबोधन गर्दैन तबसम्म यो सरकारलाई साथ दिने छैनौँ । संविधानले जबसम्म हाम्रो मागलाई सुन्दैन र बुझ्दैन तबसम्म हामीले संविधानलाई स्विकार्दैनौं । हाम्रो आन्दोलन जारी रहन्छ ।
संविधान कार्यान्वयनमा सरकारले जोड दिनुपर्छः : केशव झा, लोसपा
संविधान कार्यान्वयनका क्रममा केही समस्या देखिएका छन् । सरकारले हाम्रा मुद्दालाई जतिसक्दो चाँडो संबोधन गरोस् । माग संबोधन भए गठबन्धन सरकारलाई सहयोग गर्न तयार छौँ । लोसपाले उठाएको मुद्दा मधेसको मात्र नभई राष्ट्रिय मुद्दा हो । सरकारले संबोधन गर्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । हामी राष्ट्रिय मुद्दाको सवालमा प्रजातन्त्रमा विश्वास गर्ने पार्टीसँग सहकार्य गर्दै अघि बढ्छौँ ।
अन्य पार्टीसँग पनि राष्ट्रिय मुद्दाका आधारमा सहकार्य गर्न सकिन्छ । लोसपाको मूल एजेन्डा नागरिकता विधेयक सीमाका विषय र जनजातिका मूल मुद्दालाई संबोधन गर्नुपर्छ भन्ने हो । यी मुद्दाको संबोधन गरे तत्काल लोसपा सरकारसँग साझेदार गर्छ ।
असन्तुष्ट पक्षलाई संवादको माध्यमबाट हल हुुनुपर्छः विश्वप्रकाश शर्मा, प्रवक्ता
संविधानले पूर्णता पाएसँगै कार्यान्वयनमा आएको छ । संविधान कार्यान्वयन भएको ६ वर्ष पुगिसकेको छ । संविधान कार्यान्वयनका क्रममा केही कमजोरी भएका छन् । यिनलाई सच्चयाउँदै लैजानुपर्छ । मधेश केन्द्रित दलले संविधान संशोधनको विषयलाई लिएर असन्तुष्टि जनाइरहेका छन् । संविधान संशोधनीय विषय भएकाले आवश्यकताअनुसार संशोधन हुँदै जान्छ ।
संविधान जारी भएकै वर्ष पहिलो पल्ट संशोधन भइसकेको छ । र, आवश्यकताका आधारमा संशोधन हुन्छ । संविधानलाई अपूर्ण र गलत भन्न मिल्दैन ।
सरकारले असन्तुष्ट पक्षको मागलाई संबोधन गरोस् : महेश बस्नेत
आज संविधान कार्यान्वयन भएको ६ पर्ष पूरा भएको छ । संविधान कार्यान्वयनका क्रममा निकै कमजोरी देखिएका छन् । पछिल्लो समय संविधान कार्यान्वयन गर्ने निकायले संविधानवादको मर्मअनुरुप काम नगरेको हो कि भन्ने भान भएको छ । जसको ज्वलन्त उदाहरणको रुपमा सभामुखको भूमिका हो ।
सभामुखले आफ्नो भूमिका निर्वाह गर्न नसकेको हामीले ठहर गरेका छौँ । संविधान कार्यान्वयन गर्ने निकायबाट यस्ता गतिविधि हुनुहुँदैन । आगामी दिनमा यस्ता गल्ती नदोहोरिने हामी अपेक्षा राख्छौँ ।
यद्यपि नेपालको संविधान कार्यान्वयन उन्मुख छ । संविधान जारी भएदेखि यो संविधानप्रति असन्तुष्टि राख्दै आएका मधेशीको मागबमोजिम संविधान संबोधन र आवश्यकीय कानुन निर्माण नेकपा एमालेले सरकारको नेतृत्व गरेका बेलामा भएका छन् । तर, केही कार्यान्वयन हुन सकेन । संविधानको विषयलाई लिएर अझै असन्तुष्टि छन् । आवश्यकताका आधारमा तिनलाई संबोधन गर्नुपर्छ ।
कांग्रेस महाधिवेशन तोकिएको समयमा हुन्छ : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस महाधिवेशन तोकिएको समयमा हुने बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री थापाले कांग्रेसलाई नयाँ नेतृत्वको आवश्यकता रहेको बताउँदै भने, ‘सोलाई पूर्णता दिन तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ ।’ देश र जनताप्रतिको थप जिम्मेवार कांग्रेसको काँधमा आएको छ । अबको कांग्रेस झनै जिम्मेवार पार्टी बन्नुपर्नेमा थापाले जोड दिएका छन् ।
कांग्रेसले युवालाई समेट्नुपर्ने बताउँदै थापाले भने, ‘पार्टीमा युवाको उपस्थितिमा म लगायत साथीले उम्मेदवार दिने तयारी गरेका छौँ ।’ संविधान कार्यान्वयनका लागि थापाले आवश्यकताका आधारमा संविधान संशोधन गर्दै जान सकिने बताए । चालू संविधानमाथि कुनै टिका टिप्पणी गर्न आवश्यक छैन । किनकी यो संविधान विश्वकै उत्कृष्ट संविधान हो । यद्यपि कार्यान्वयनका क्रममा केही कमीकमजोरी छन् । जसलाई सच्याउँदै जान आवश्यक छ ।