डा. रुद्र शर्मा
काठमाडौं । आज संविधान कार्यान्वयन भएको छैटौँ वर्ष पूरा भई सातौँ वर्षमा प्रवेश गरेको दिन हो । यो सुवर्ण अवसरमा म देश तथा विदेशमा रहनुभएका समुपूर्ण नेपालीमा शुभकामना दिन चाहन्छु ।
वर्तमान संविधान कार्यान्वयन भएको ६ वर्ष पूरा भएको छ । संविधानमा भाषालगायत त्रुटि, कमजोरी र अनमेलका कारण मानिसहरु संविधान निर्माणका क्रममा किन बुद्धि नपुर्याइएको भनी प्रश्न गर्छन् । संविधान बनाउने क्रममै आवश्यकताअनुसार सच्याउँदै जाने मनसायका साथ संविधान जारी गरिएकाले यो संविधानमा थुप्रै कुरा नमिलेका हुन् । सोहीबमोजिम परिस्थित र मागका आधारमा संविधान संशोधन हुँदै आएको छ । जुन आगामी दिनमा पनि जारी रहनेछ ।
संविधानमा भएका नराम्रा पक्षलाई लिएर हामीले आलोचना गर्नुभन्दा पनि संविधान कुन परिस्थिति, मोडालिटी र माइनसेटमा आयो भन्नेमा विचार पुर्याउनुपर्छ । तर, संविधान जारी गर्ने क्रममा विभिन्न सर्वेक्षणद्वारा जारी भएका सूचनालाई भने परीक्षण गरिएन । संविधान जारी गर्दा योचाहिँ कमजोरी भएकै हो ।
संविधान जारी भएसँगै कार्यान्वयनमा जान्छ वा जाँदैन र सर्वस्वीकार्य हुन्छ वा हुँदैनजस्ता आशंका थिए । समय क्रमसँगै यस्ता शंका निवारण हुँदै गएका छन् । अहिले सर्वस्वीकार्य संविधानको रुपमा स्थापित भएको छ ।
संविधान कार्यान्वयनका क्रममा केही कमीमजोरी र थुप्रै अमिल्दा विषयवस्तु छन् । यस्ता कुरालाई संशोधनमार्फत् सच्याउँदै जानुपर्छ । जसले संविधानलाई सर्वस्वीकार्य र राष्ट्रिय एकताको प्रतीकको रुपमा स्थापित गराउन मद्दत पुर्याउँछ ।
संविधान भनेको सबैको अनुहार देखिने र अटाउने दस्तावेज हो । यसैका आधारमा देशमा विकास, स्थिरता र आर्थिक विकास हुन्छ ।
यो बीचमा संविधान कार्यन्यानका क्रममा परिकल्पनाभन्दा केही जटिल परिस्थिति सिर्जना भए । जसले आमजनमानसमा संविधान नै खाराब हो कि भन्न शंका पैदा पनि गरायो । तर, सर्वोच्च अदालतको करेक्सनमार्फत् यी सबै निराकरण भएका छन् ।
संविधान कार्यान्वयन र संघीयता कार्यान्वयनमा हामी योजनाबद्ध रुपमा जानुपर्ने हो । हामीले त्यसो गर्न सकेनौँ । जसका कारण मुलुकमा केही समय संवैधानिक संकट सिर्जना हुनुका साथै प्रदेश सरकार बहसको विषय बनको छ । तर, स्थानीय सरकारबारे मानिसहरुमा असन्तुष्टि छैन । बरु प्रदेश सरकारका अधिकार स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्छ माग बढ्न थालेको छ । नेपालमा संघीयता टिकाउने हो भने मन्त्रीको संख्या घटाउनु वा प्रदेश सरकार आफ्नै खुट्टामा उभिन सक्नुपर्छ ।