काठमाडौं । अमेरिकासँग एमसीसी सम्झौता गर्ने नेपालको प्रस्तावमाथी छलफल संसदबाट बहुमतले पारित भएपछि स्थगित भएको संसद बैठक साँझ ८ बजे पुनः बस्यो । पुनः बसेको संसद बैठकले एमसीसी सम्झौता बहुमतले पारित गरेको छ ।
उपस्थित सांसदहरुको बहुमतले एमसीसी सम्झौता पारित भएको घोषणा सभामुख अग्नीप्रसाद सापकोटाले गरेका छन् । ३ घण्टासम्म सैदान्तिक छलफल हुँदा माओवादी र एकीकृत समाजवादी पार्टी भित्र असन्तुष्ट पैदा भएको थियो ।
दोश्रो बैठकमा सरकारले जारी गरेको ब्याख्यात्मक घोषणामा सांसदहरुले आफ्नो धारणा राखेका थिए । त्यस लगतै अर्थमन्त्री शर्माले सांसदहरुले राखेको धारणाको उत्तर दिएका थिए । त्यस लगतै एमसीसी सम्झौताको पक्षमा मतदान शुरु भएको हो ।
सामान्य रुपमाशुरु भएको मतदानमा एमसीसी सम्झौताको पक्षमा रहेको सांसदको संख्या बहुमत भएको घोषणा गर्दै एमसीसी संसदबाट पास भएको सभामुख अग्नीप्रसाद सापकोटाले बताएका हुन् ।
एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र गिरीराजमणि पोखरेलसहित ६ जनाले नोट एमसीसीको विपक्षमा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र देव गुरुङलगायतले एमसीसी राष्ट्रघाती भएको भन्दै विपक्षमा रहेका छन् । विपक्षमा रहेका नेताहरुले पार्टीको ह्विप उलंघन गरेका हुन् ।
नेकपा एमालेले संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउन नाराबाजी गर्दै संसदअवरुद्धलाई जारी राखेको छ । एमालेको नाराबाजीकै बीचमा एमसीसी सम्झौता बहुमतले पास भएको हो ।
एमसीसी पास लगतै ब्याख्यात्मक घोषणामा रहेको १२ बुँदालाई अमेरिकाले स्विकार गरेको खण्डमा एमसीसी परियोजना नेपालमा अघि बढ्नेछ । त्यसपछि अमेरिकाले तत्काल सम्झौता अनुसारका योजनाहरुको निर्माण थालनी गर्ने बताइएको छ ।
शनिवारसम्म एमसीसीको विपक्षमा रहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन र सरकारबाट बाहिरिनु पर्ने बाध्यता आएपछि त्यसलाई बचाउन एमसीसीको पक्षमा मतदान गर्ने निर्णय आइतवार विहान गरेको थियो ।
सोही अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालगायतका दलको सहकार्यमा एमसीसी सम्झौता बहुमतले पास गरेको हो ।