गृहमन्त्रीको नगरमा न्यायको खोजी

बुटवल । गृहमन्त्री बालकृष्ण खाणको गृहनगर रूपन्देहीको तिलोत्तमा नगरपालिकामा सीता भण्डारीको मृत्यु प्रकरणलाई लिएर २५ दिनदेखि आन्दोलन जारी छ । तिलोत्तमा– ५ की २७ वर्षीया भण्डारीको मृत्युको विषयलाई लिएर माइती पक्षसहित स्थानीय आन्दोलनमा उत्रेका हुन् ।

तिलोत्तमा कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीताको शंकास्पद शव भेटिएको थियो । दिनहुँजसो आन्दोलन भए पनि सरकारी पक्षबाट सुनुवाइ नभएको उनीहरूको आरोप छ । गृहमन्त्रीकै गृहनगरमा त यस्तो अन्य ठाउँका आमजनताले कसरी न्याय पाउने आशा गर्न सकिन्छ भन्दै आन्दोलनकारीहरु गृहमन्त्रीविरुद्ध आक्रोसित भएका छन् ।

परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाएको माईती पक्षको दाबी छ । मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । गृहमन्त्रीको नगरमा महिना बित्न लाग्दा पनि न्याय नपाएको उल्लेख गर्दै उनले अब न्यायको आशा हराउन थालेको बताए ।

आन्दोलनकारीले तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडामा तालाबन्दी गरेका छन् । उनीहरूले बिहीबार पनि नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै न्यायका लागि पहल गर्न माग गरेका छन् ।

पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले घटनाका बारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.