रहिनन् रेडियोकर्मी कृष्णा ताम्राकार

काठमाडौं- पत्रकार कृष्णा ताम्राकारको निधन भएको छ। अस्वस्थ भएपछि केहीदिनदेखि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत ८६ वर्षकी उनको बिहीबार बेलुकी १० बजे निधन भएको हो। उनी निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन्।

उनले लामो समय रेडियो नेपालमा समाचार बाचनलगायत काम गरेकी थिइन्। उनले २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी थिइन्। उनले सुरूमा हिन्दी र पछि नेपाली समाचार बाचन गरेकी थिइन्। उनले करिब ६० वर्ष रेडियोमा काम गरेकी थिइन्। ताम्राकारको निधनको खबरले अत्यन्त दु:खी बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम- कृष्णा ताम्राकार। उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दु:खी छु। हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारमा समवेदना,’ ओलीले भनेका छन्।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ताम्राकारको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।

‘विशेष गरी समाचार बाचनमा वर्षौंदेखि सुनिँदै आएको कर्णप्रिय सशक्त आवाज- यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्। उहाँको निधनले स्तब्ध बनायो। भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारमा गहिरो समवेदना,’ खड्काले ट्वीट गरेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.