नेपाल पर्वतारोही संघको मनोरम पार्क, नेपाल स्काउटको पार्क, शसस्त्र प्रहरी बलको पार्क, भ्युटावर, रक क्लाइमिङ, जिपलाइनलजस्ता रमाइला ठाउँ ककनीमा छन् । लिखु खोलाको फाँटदेखि अग्ला पहाड र हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र घुमघामका लागि उपयुक्त छ । क्षणभरमै मौसममा आउने परिवर्तन ककनी हाइटको विशेषता हो ।
काठमाडौं । कुनै समय काठमाडौंबाट रानीपौवाका लागि छुट्ने बसमा पाइला टेक्ने ठाउँ हुँदैन थियो । विशेषगरी, शनिबारको दिन । बाइपासबाट छुट्ने सार्वजनिक यातायातमा ठूलै भीड लाग्ने गर्दथ्यो । यति मात्र होइन । बाइपासबाट ककनी सोझिने निजी यातायातको लर्काे नै लाग्ने गर्दथ्यो । बाईक र स्कुटीमा हुईकिने किशोर–किशोरी त कति हो कति ? साईक्लिङ गर्दै ककनी पुग्नेहरुको हूल नै हुन्थ्यो । तर, विगत केही वर्षदेखि यो सडकखण्ड प्रायः सुनसानजस्तै छ । जसका कारण ककनीको पर्यटन व्यवसाय अहिले ठप्प छ ।
पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने बाइपास, रानीपौवा सडकखण्डको अवस्था नाजुक भएसँगै ककनी आउने पर्यटकको संख्यामा कमी आएको ककनी पर्यटन व्यवसायी संघका अध्यक्ष लीला तामाङ बताउँछन् । स्तरोन्नति गर्ने भन्दै बाटो खन्न थालेको लगभग आठ वर्ष नाघेको छ । तर, निर्माण कार्य सकिएको छैन । वर्षात्को समय हिलाम्मे र हिउदमा धुलोले भरिने भएको हुँदा आन्तरिक पर्यटक ककनी आउन अप्ठरो मान्ने गरेको अध्यक्ष तामाङ बताउँछन् । पर्यटकको संख्यामा कमी आएसँगै यस क्षेत्रको होटल व्यवसाय ठप्प बनेको हो ।
ककनी हाइटमा मात्रै व्यवस्थित होटलको संख्या १२ भन्दाबढी छ । अव्यवस्थित बाटोका कारण कम हुन थालेको आन्तरिक पर्यटक कोरोना महामारी सुरु भएपछि भने ठप्प अवस्थामा पुगेको हो । ‘कोरोनाका कारण वार्षिक ३० देखि ३५ लाख घाटा लागेको छ । पहिलेको दाँजोमा अहिले काम चलाउ मात्र हो आयआर्जन छैन’, अध्यक्ष तामाङले भने ।
ककनीको पर्यटनलाई उकास्ने प्रयास नभएको भने हैन । गाउँपालिकाको नीति तथा कार्यक्रममा संघले ककनीको पर्यटनलाई व्यवस्थित बनाउने योजना वार्षिक रुपमा पेश गर्दै आइरहेको छ । तर, गाउँपालिकाबाट कुनै कार्यक्रम पास नभएको अध्यक्ष तामाङले बताए । ‘गाउँपालिकाले यो क्षेत्रको पर्यटन उकास्न नचाहेको हो या पर्यटन विकासका लागि बजेट नै नआएको हो बुझ्न सकेको छैन,’ उनले भने, ‘हाम्रो तर्फबाट सक्नेजति गरिरहेका छौँ । तर, सम्बन्धित निकायले नै वास्ता नगर्दा योजनाअनुरुप काम गर्न सकिएको छैन ।’
पर्यटनको सम्भावना बोकेको ककनी
समुद्री सतहदेखि लगभग २१०० मिटरको उचाइमा अवस्थित ककनीहाइट पिकनिकस्थलका लागि प्रख्यात छ । भक्तपुर र काभ्रेपलाञ्चोकको नगरकोटसँगै ककनी पनि पर्यटकीय स्थलको रुपमा घोषणा भएको थियो । आज जुन उचाईमा नगरकोट छ त्यो उचाईमा ककनी छैन । ककनी प्राकृतिक मनोरम, हिमश्रृङ्खला र स्थानीय उत्पादनले अगाडी छ । तर पनि ककनीको पर्यटन विकास नगरकोटको दाजोमा न्युन नै छ ।
नेपालमा पहिलो पटक जापानिज रेन्बो ट्राउट माछा भित्रदाँ ककनीबाटै शुरु भएको थियो । त्यसैलै ककनी रेन्बो ट्राउट माछाको लागि प्रमुख गन्तव्य हो । यस्तै स्थानीय उत्पादनहरु स्ट्रबेरी र मूलाको लागि ककनी प्रख्यात ठाउँ हो । ककनीबाट काठमाडौं, नुवाकोट, धादिङ, गोरखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोकलगायत ८ वटा जिल्लाका अग्ला–अग्ला पहाडहरु, काठमाडौं उपत्यका, नुवाकोटको अधिकांश भूभाग, लाङटाङ, अन्नपूर्ण, गणेश, दाजुभाई, मनास्लु, गौरिशंकरलगायत एक दर्जन बढि हिमालहरु, नागार्जुन राष्ट्रिय निकुञ्ज, शिबपुरी राष्ट्रिय निकुञ्जलगायतका ठाउँहरु अवलोकन गर्न सकिन्छ । ककनीमा तामाङ जाति रुम्बा राजाको दरबार पनि अवलोकन गर्न सकिन्छ ।
नेपाल पर्वतारोही संघको मनोरम पार्क, नेपाल स्काउटको पार्क, शसस्त्र प्रहरी बलको पार्क, भ्यु टावर, रक क्लाईमिङ, जिपलाईन लगायतका रमाईलो ठाउँहरु ककनीमा छ । लिखु खोलाको फाँटदेखि अग्ला पहाड र हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र घुमघामका लागि उपयुक्त छ । क्षणभरमै मौसममा आउने परिवर्तन ककनी हाइटको विशेषता हो । गर्मीको समयमा समेत चिसो हावापानीको प्रवाह हुने यस स्थानमा पर्यटनका थुप्रै सम्भावना छ । ककनीको यस्तै विशेषताले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने गर्दछ ।
हाइकिङ ट्रेलमा ककनी
पर्यटन विकास समाज ककनीका अध्यक्ष लीला तामाङका अनुसार ककनीलाई ‘काठमाडौं भ्याली कल्चरल ट्रेल’ मा समेटिएको छ । काठमाडौंदेखि २३ किलोमिटरको दूरीमा रहेको यो क्षेत्रलाई अझ व्यवस्थित बनाउन सके हाइकिङकै माध्यमबाट पर्यटक भित्र्याउन सकिने अध्यक्ष तामाङको भनाइ छ ।
झरना, क्यानोनिङ र रक क्लाइम्बिङ
ककनी गाउँपालिकाभित्र हाल नाम चलेको दुईवटा लौके झरना र फुङफुङ झरना छन् । यी झरनामा क्यानोनिङको व्यवस्था गर्नसके पर्यटकको आकर्षण अझ बढ्ने सम्भावना छ । ककनी हाइटमा आर्टिफिसियल रक क्लाइम्बिङ धेरै पहिलेदेखि आकर्षणमा छ । यसका अलवा प्राकृतिक रुपमै रक क्लाइम्बिङको सम्भावना बोकेका थुप्रै स्थान छन् ।
पिकनिक स्पट र दृश्यावलोकन
ककनी हाइट काठमाडौं उपत्यकाका स्कुल कजेल र कम्पनीका पिकनिकस्थलको पहिलो विकल्पमा स्थपित भएको छ । मानिसहरु बिहानीको सूर्योदय र साँझको सुर्यास्तलाई नजिकबाट नियाल्नका लागि पनि ओभरनाइट स्टेमा ककनी पुग्छन् । साथै यो स्थान हिमशृङ्खला, हरियो डाँडाँपाखाको मनोरम दृश्यले मुख्य आकर्षणको रुपमा छ ।
काठमाडौंबाट गर्मी छल्न, पारिवारिक जमघट, साथीभाइसँगको रमाइलो र जन्मदिन मनाउन मानिस ककनी पुग्ने गरेका छन् । ककनीमै पर्ने सूर्यचौर पछिल्लोसमय धेरैको रोजाइमा पर्न थालेको छ । यस स्थानमा प्याराग्लाइडिङसमेत सुरु भएको छ ।
कृषि पर्यटनमा ककनी
ककनी गाउँपालिका स्ट्रबेरी र मूला उत्पादनका लागि उपयुक्त क्षेत्र हो । यस क्षेत्रमा उत्पादित मूला काठमाडौं, पोखरादेखि विभिन्न शहरमा निर्यात हुने गरेको छ । यसका साथै यस क्षेत्रमा उत्पादित स्ट्रबेरीले काठमाडौं उपत्यकाको मागलाई सजिलै परिपूर्ति गर्ने गरेको छ । त्यसैगरी, यो क्षेत्रमा जापानी रेन्बो ट्राउट माछा प्रख्यात छ । काठमाडौंको सिमाना छोडेर नुवाकोट प्रवेश गरेसँगै थुप्रै स्थानमा ट्राउट उत्पादनस्थल तथा होटल देख्न सकिन्छ । पासाङल्यामु राजमार्ग अन्र्तगत ३० भन्दाबढि ट्राउट होटल तथा रिसोर्टहरु संचालनमा छन् ।
सरकारी निकाय मौन
ककनी पर्यटन विकासको हिसाबले अत्यन्तै संभावना बोकेको ठाउँ हो । ककनीमा पाईने विशेषताहरु अन्यन्त्र बिरलै पाउन सकिन्छ । संभावनाहरुको खानी भएपनि ककनीको पर्यटन विकासप्रति सरकारी निकाय मौन छ । ककनीलाई नेपाल पर्यटन बोर्डले प्रथामिकतामा राखेर विकास र प्रवद्र्धन गर्न नसक्दा ककनीको महत्व प्रचार अझ बढ्न सकेको छैन ।
अहिले तीन तहको सरकार छ । केन्द्र सरकारले ककनीको सर्वाङ्गीण विकासको लागि एउटा गुरु योजना सहित राष्ट्रिय योजना अघि सार्नु पर्ने थियो । तर हालसम्म केन्द्र सरकारको आँखा ककनीमा पर्न सकेको छैन । यस्तै प्रदेश सरकारले ककनीको पर्यटन विकास भनेर साना–साना योजनाहरुलाई कार्यन्वयन गरिरहेको छ । जुन पर्याप्त छैन ।
स्थानीय सरकारले समेत ककनीको पर्यटन विकास वारे चासो पुराउन सकेको छैन । समग्र ककनी गाउँपालिकाको विकास गर्ने शपथ लिएका जनप्रतिनिधिहरु ककनीप्रति सकरात्मक देखिदैँन । भौगोलिक विभेद र फरक दृष्टिकोणले ककनीलाई गाउँपालिकाले हेर्ने गरेको स्थानीयहरुको गुनासो छ । ककनी गाउँपालिकाको नाम ककनी भन्ने ठाउँकै कारण नामाकरण गरिएको हो । तर ककनी गाउँपालिकाको सदरमुकाम रानीपौवा बजारमा पर्छ जुन मुख्य ककनीबाट ५ किलोमिटरको दूरीमा पर्छ ।
ककनीको पर्यटन विकासले ककनी गाउँपालिका मात्र हैन समग्र नुवाकोटलाई समृद्ध बनाउन सक्छ । ककनीले समग्र नुवाकोटलाई प्रतिनिधित्व गरेर देशभर चिनाउन सक्छ । तर स्थानीय सरकारले ककनीको पर्यटन विकासका लागि कुनै चासो नदिएको स्थानीयहरुको भनाई छ । ककनी गाउँपालिकाले रानीपौवा बजारकै माथिल्लो हबेली डाँडाँलाई पर्यटन विकासको रुपमा अघि सार्न चासो देखाएको स्थानीयको दावी छ ।
सबै पूर्वाधारहरु रहेको मुख्य ककनीलाई पछाडी पार्दै जाने र केही पनि सुविधा नभएको ठाउँलाई नयाँ गन्तव्यको रुपमा अघि सार्दै जाने नियत ककनी गाउँपालिका प्रमुखमा रहेको ककनीका स्थानीयवासीको गुनासो छ । पर्यटन विकासको संभावना भएको सबै ठाउँमा पूर्वाधार तयार पारि विकास गर्नुपर्छ । तर नेपालभर प्रसिद्ध ककनीलाई छोडेर सोही ठाउँमै नयाँ गन्तव्य खोज्नु मुर्खता हो ।
शुरुमा प्रसिद्ध ठाउँलाई प्रवद्र्धन र विकास गरिसकेपछि नयाँ–नयाँ ठाउँको खोजी गर्ने हो, विकास गर्ने हो, ककनीका धनबहादुर तामाङले भने । ८ बर्षदेखि पासाङल्यामु राजमार्ग बन्न सकेको छैन । गाउँपालिका जनप्रतिनिधिहरु मौन छ । यस्तो जनप्रतिनिधिबाट गाउँपालिका र ककनीको विकास हुन सक्दैन, उनले भने ।
दर्जन भन्दाबढि सांसद र मन्त्री भइसकेका नेताहरु भएको जिल्ला नुवाकोट ककनीको अवस्था हेर्दा दयनीय देखिन्छ । ककनीमा संभावना अनुसार जुन किसिमले विकास हुनुपर्ने हो, त्यो हुन नसक्दा ककनी पछाडी परेको हो । समयमै सबै निकाय र सम्बन्धित सरोकारवालाले ककनीको वारेमा चासो पुराउन नसके भावि दिनमा ककनी सम्झानामा सिमित हुँदै जानेछ ।