काठमाडौं । हिन्दुधर्मलाई वैद्धिक एवम सनातन धर्मको रुपमा लिइन्छ । हिन्दु धर्मभित्र अनेक चक्र र अवस्थाको बारे व्याख्या गरिएको छ । सोही व्याख्याभित्रको एउटा सानो कालक्रमको रुपमा रहेको छ बडा दशैं अर्थात विजया दशमी । सत्ययुगमा पार्वतीले कालीको रुप धारण गरि मैसासुरको अन्त्य गरेको दिनको रुपमा विजया दशमीलाई मनाउने गरिन्छ । हिन्दु धर्ममा आधारित भएपनि बडा दशैंलाई नेपाली समाजमा बिशेष प्राथमिकताका साथ मनाइन्छ ।
आज दशैं सुरु भएको छैठो दिन फूलपाती । घटस्थापना (जमरा राख्ने दिन) को दिनबाट दशैं सुरु भएपनि छैठौं दिन सप्तमी अर्थात फूलपातीको दिनबाट मात्रै चहलपहल सुरु हुने गर्दछ । घरमा फूलपाती भित्र्याएपछि मात्र औपचारिक रुपमा दशैं भित्रिएको मानिन्छ । विशेष विधिसँगै शुभ साइतमा फूलपाती भित्र्याउनुपर्ने हुन्छ । विभिन्न नौ थरिका पातहरुलाई पूजा गरेर फूलपाती तयार गरिन्छ । यसरी तयार गरिएको फूलपातीलाई दुर्गाको मन्दिर अथवा दुर्गा पूजा गर्ने स्थानमा भित्र्याइन्छ ।
विशेष पूजा आराधना गरी भित्र्याइने फूलपातीमा धान, केरा, हलेदो, कर्चुरा, माने, दारिम, बेल, जयन्ती, अशोक गरि नौ प्रकारका पाति मिसाइएको हुन्छ ।
काठमाडौंको दुर्गा मन्दिरमा भित्रिने फुलपाति भने गोर्खाबाट तयार भएर आउने गर्दछ । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेपछि गोर्खा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका भित्र्याउने परम्परा सुरु भएको थियो । गोर्खा दरबारको दशैं घरमा तयार पारिएको पातिलाई देशका विभिन्न स्थानमा रहेको देवी, दुर्गाको मन्दिरमा पुर्याउने प्रचलन रहिआएको थियो । जुन परम्परा अझै कायम रहेको छ ।
गोरखाको दशैं घरमा तयार भएको फूलपाती काठमाडौं ल्याउन गोरखा दशैं घरका पूजारी सहित ६ जना मगरले धादिङको जीवनपुरसम्म ल्याउने गर्दछन् । काठमाडौंबाट जीवनपुर पुगेका ६ जना ब्राम्हणले उक्त फूलपाती जमलसम्म ल्याउने गर्दछन् ।
गोरखाबाट यस बर्षको फूलपाती पठाइसकेको छ । जमल आइपुगेपछि फूलपातीलाई निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा, ब्यान्डबाजा सहित नाचगान गर्दै हनुमान ढोकासम्म पुर्याउने छन् । यसरी लावालस्करसहित आइपुगेको फूलपातीलाई विशेष पूजाआजा गरि हनुमानढोकामा भित्र्याइन्छ । हनुमान ढोकामा फूलपाती भित्रिएपछि बल्ल औपचारिक रुपमा दशैंको शुभारम्भ हुने गर्दछ ।