काठमाडौं । दशैं मनाउन घरगाउँ छिरेकाहरु काठमाडौं फर्कन थालेसँगै उपत्यकामा चहलपहल सुरु भएको छ । केही दिन सुनसान बनेको काठमाडौंको सडकमा सवारी साधनको चाप बढ्न थालेको छ ।

नेपालीहरुले विशेष प्राथमिकताका साथ मनाइने विजया दशमीमा प्राय काठमाडौं सुनसान हुने गर्दछ । तर दशैंको समयमा कतिले काठमाडौं छाड्छन् भन्ने यकिन डाटा भने सरकारसँग पनि छैन ।

७७ जिल्लाबाट रोजी रोटीको खोजीसँगै अध्ययनका लागि ठुलो संख्यामा काठमाडौं उपत्यका छिर्ने गर्दछन् । उपत्यकामा करिब ३० लाखको हाराहारीमा बाहिरि जिल्लाका मानिसहरु बस्दै आएका छन् ।

काठमाडौं छिर्ने विभिन्न नाकाबाट ठूलो संख्यामा काठमाडौंबाट बाहिरिएकाहरु दशैं सकिनथालेसँगै उपत्यका फिर्ति हुन थालेका हुन् । यससँगै काठमाडौंका मुख्य चोकहरुमा सवारी साधनको चाप बढ्न थालेको हो ।

