रुबि खानले तोडिन् १२ दिन लामो अनसन

काठमाडौं । १३ दिनदेखि अनसनमा बसेकी रुबी खानले अनसन तोडेकी छिन् । सरकारले छानबिन समिति गठन गर्ने भएपछि उनले सहमतिमै अनसन तोडेकी हुन् ।

बाँकेकी नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको अपहरण, शरिर बन्धक र हत्याको घटनाबारे छानबिन गर्न सरकारले ६ सदस्यीय समिति गठन गर्ने भएको छ । घटनाबारे अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धतासँगै गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अनसारीले जुस खुवाएर अनसन तोडाएका हुन् । यस घटनाबारे छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गर्ने भएको छ । समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

निर्मला कुर्मी र नकुन्नी धोबीको हत्या घटनाबारे मुस्लिम समाज चेतना केन्द्रको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको थियो । उक्त जाहेरीमाथि प्रहरीले खासै महत्व दिएनन् । न्याय माग्नका लागि महिला अधिकारकर्मी रुबी खान नेतृत्वको टोली २० दिनको पैदल यात्रामा नेपालगञ्जबाट काठमाडौं आइपुगेका थिए ।

काठमाडौं आएर धर्ना सुरु गरेका उनलाई प्रहरीले धरपकड गरेका थिए । सर्वाेच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपछि रुबीलाई प्रहरीले छाडेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.