काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको तस्तै पास हुने बताएका छन् ।
बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार बताएका हुन् ।
‘एमसिसी जस्ताको त्यस्तै पारित हुन्छ,’ सञ्चारकर्मीसँगकाे कुराकानीमा देउवाले भने, ‘एमसिसी नेपालकाे कानुनको अधिनमा रहेर लागू हुने हो । बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्तो होइन, एमसीसी नेपालको हितमा छ, निशर्त पास गर्नु पर्दछ ।’
तर, गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने पक्षमा छन् ।
यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसी संसद्बाट पास गर्नेबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि सरकारमा रहदा प्रधानमन्त्री ओली एमसीसी संसद्बाट पास हुनुपर्छ भन्ने अडानमा थिए । एकालेका भीम रावललगायतका नेताहरु एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्छ भन्ने पक्षमा थिए ।