प्रदेश १ सरकार ढल्ने निश्चित, राई बन्दै मुख्यमन्त्री

काठमाडौं । प्रदेश १ को सरकार ढल्ने निश्चित भएको छ । गठबन्धन दलले विश्वासको मत नदिने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने कार्यतालिका रहेको छ । आज दिउँसो १ बजे आचार्यले विश्वासको मत पाउने सम्भावना शून्य छ ।

शुक्रबार, प्रदेश सभा बैठक आइतबार बस्ने गरी स्थागित भएको थियो ।

आज मुख्यमन्त्रीकाे विश्वासकाे  प्रस्तावमा मतदान हुँदैछ ।

नेकपा एमालेको विवाद मिलाउन शेरधन राईलाई हटाएर एमालेका आचार्य मुख्यमन्त्री बनेका थिए ।

एमालेबाट १० जना संसदले एकीकृत समाजवादी पार्टी रोजेपछि प्रदेश सरकार अल्पमतमा परेको थियो । १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमालेकाे सांसद् संख्या ४१ छ ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ ।

सभामुख प्रदीपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार रहेकोले एमालेको ३९ सांसदको मत मात्रै सुनिश्चित छ ।

विपक्षी गठबन्धनसँग ५० मत छ । नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी ५० सांसदको समर्थनमा गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री हुने छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.