राप्रपाको पनि सर्यो महाधिवेशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि महाधिवेशन सर्ने भएको छ । राप्रपा केन्द्रिय समितिको बैठकले तल्लो तहको अधिवेशनहरु नसकेको भन्दै महाधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म गर्ने निर्णय थियो ।

बिहीबार तीन अध्यक्षहरूसहित बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले मंसिर ११, १२ र १३ गते काठमाडौमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले सक्रिय सदस्यताको अवधि कार्तिक १५ गतेसम्म कायम रहने निर्णय पनि गरेको छ । कार्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने राप्रपाले जनाएको छ ।

महाधिवेशनको तयारीका लागि ९ वठा समिति पनि गठन गर्दै राप्रपाले सक्रिय सदस्यको दावि विरोध कार्तिक २७, २८ र २९ गते गर्ने र अन्तिम नामावली कार्तिक ३० गते प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

जिल्ला अधिवेशन कार्तिक २३ भित्र गरि सातैवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कार्तिक २८ गते सम्पन्न गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.