एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी गराउने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले १,५३६ प्रतिनिधिको टुंगो लगाएको हो ।

एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १०औं महाधिवेशनमा सहभागी गराउने निर्णय एमालेले गरेको छ । भूगोलबाट १,१९६ जना, केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि रहने व्यवस्था एमालेले गरेको छ ।

स्थायी कमिटीको निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।

हरेक जिल्लाबाट एकएक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५÷५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रवक्ता ज्ञवालीका अनुसार पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.