ढोरपाटनको अवलोकन गर्दै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ढोरपाटन सिकार आरक्षण क्षेत्रको अवलोकन भ्रमण गरेकी छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत् दिउँसो १२ः४० बजे ढोरपाटन पुगेकी भण्डारीले आरक्षण कार्यालयको निरीक्षण समेत गरेकी छिन्।

निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षणका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गरेका थिए।

राष्ट्रपति भण्डारीले आरक्षणमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए ।

राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्षण क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चूस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

राष्ट्रपति भ्रमणमा आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी शुक्रबार नै ढोरपाटन पुगेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.