काठमाडौं । कारोना महामारीका कारण शिथिल बनेको उद्योगी व्यवसायीलाई सरकारले चरणवद्ध रुपमा राहतका प्याकेजहरु शुरु गर्दै आएको छ । शुरुमा विद्युत डिमाण्ड शुल्क छुटदेखि ऋृणतिर्ने समयसिमालाई लम्बाउने सरकारले निर्णय गरेको थियो ।
पुनः सरकारले कोरोना मारमा परेका व्यवसायीको लागि पुनःकर्जा व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्देशन दिए लगतै राष्ट्र बैंकले पुनःकर्जाका लागि सूचना जारी गरेको छ । कोरोना प्रभावित्र क्षेत्रका व्यवसायीहरुले ५ करोडसम्म पुनःकर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले सूचना जारी गरेर पुनःकर्जाको आवेदन आह्वान गरेको हो । कोरोना कहरमा प्रभावित्र भएका उद्योग तथा व्यवसायीहरु चलायमान हुन नसकेको र कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि राष्ट्र बैंकले पुनःकर्जा नीति लिएको हो ।
आफ्नो कारोवार रहेको बैंकको शाखामा मंसिर १९ गतेभित्र पुनःकर्जाका लागि आवेदन दिन राष्ट्र बैंकले भनेको छ । कोरोना प्रभावित क्षेत्रमा यातायात, पर्यटन, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्क्षी, हवाई तथा पर्यटकीय मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय पार्टी प्यालेस, मत्स्यपालनलगायत पर्दछ ।
यस्तै सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, विद्यालय, निर्माण व्यवसाय, औषधि उत्पादक, छपाइ प्रकाशन तथा सञ्चार गृह, फलामजन्य व्यवसाय र अस्पताल पनि प्रभावित क्षेत्रमा पर्दछ । यी क्षेत्रका व्यवसायीहरुले पुनःकर्जाका लागि आवेदन दिन सक्नेछन् ।