लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा बज्रयान विहारको उद्घाटन गरेकी छन् । बुद्धभूमि लुम्बिनीमा नेपाली मौलिकतासहितको बज्रयान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बुद्धदर्शन विश्वमा परिचित दर्शन भएको बताएकी छन् ।
बुद्ध शान्तिको दूत मात्र नभई नेपालको लागि गौरव भएको पनि राष्ट्रपतिले बताईन् । म एउटै कुरा भन्छु, गौतम बुद्दको जन्म नेपालमै भएको हो,’ उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ । त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’
बुद्धको दावी केही–केही देशले गरेपनि सत्य नलुक्ने र नेपाल बुद्धभूमि भएको संसारलाई थाहा भएको उनले बताईन् । लुम्बिनीमा बनेको विहारलाई काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरेको हो । मेयर विद्यासुन्दर शाक्यले बुद्धको ठाउँमा विहार बनाउने सौभाग्य काठमाडौं महानगरले पाएको बताए ।
परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउनु नेपालीको कर्तव्य भएको र सारा विदेशीको ध्यान विहारमा केन्द्रित हुने दावी गरेका छन् । काठमाडौं महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको छ ।