प्रधानन्यायाधीशसँग पुनः वार्तामा बस्ने असन्तुष्ट न्यायाधीशको निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीश जबरासँग वार्तामा बस्ने भएका छन् ।

एकसाता यता इजलास छाडेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतबारको भएकाे छलफलले वार्ता गर्न भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ । जबरासँग अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले वार्ता गर्ने एक न्यायाधीशको भनाई छ ।

उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर ती बुँदाका आधारमा एक पटक वार्तामा बस्ने निर्णय गरेका हुन् । ‘हामीले केही हाम्रा सरोकारका साझा विषय तय गरेका छौं, यी विषयमा उहाँ (जबरासँग) भोलिबाटै वार्ता हुन्छ ।’ ती न्यायाधीशले भने ।

इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुई वटा मुद्दामा सुनुवाई गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन् ।

उता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आजैबाट प्रर्दशन थालेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.