काठमाडौं । नेकपा एमाले निकट युवा संगठन युथफोर्सको सिराहामा शक्ति प्रदर्शन भएको छ । सिराहा जिल्ला भेला आयोजनाको अवसरमा समारोह उद्घाटनको पूर्वसन्ध्यामा युथफोर्सले शक्ति प्रदर्शन गरेको हो । सिराहाको विभिन्न ठाउँबाट हजारौं बाईक र्याली कार्यक्रमस्थल प्रवेश गरेको थियो ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, युथफोर्सका केन्द्रीय संयोजक क्षितीज थेवे र युवा संघका केन्द्रीय महासचिव रमेश आचार्य उपस्थित भएका थिए । हजारौंको संख्यामा कार्यकता भेला सहित युथफोर्स सिराहाले जिल्ला भेला सम्पन्न गरेको छ । भेलाले सरोजचन्द्र यादवको संयोजकत्वमा सिराहा कमिटी गठन गरेको छ ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल हो । युवा संघ अन्तर्गतको संगठन हो युथफोर्स । युवा संघकै समन्वयमा जिल्ला–जिल्लामा युथफोर्स गठन भइरहेको छ । अराजकताको अन्त्य र एमालेको विचार प्रवाह गर्न युथफोर्स सक्रिय छ ।
पछिल्लो समय मधेशमा एमाले समर्थकको संख्या हजारौंको संख्यामा बढिरहेको छ । त्यस कारण पनि मधेशमा युवा संघ र युथफोर्सको कार्यक्रमहरु तिब्र रुपमा भइरहेको युथफोर्स केन्द्रीय संयोजक थेवेले बताए । कार्यक्रमलाई युवा नेता त्रय पौडेल, थेवे र आचार्यले सम्बोधन गरेका थिए ।