चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौँ महाधिवेशनस्थल सौराहको अवलोकन गरेका छन् ।
सोमबार भरतपुर महनगरपालिका अधिवेशनको उद्घाटन गरेर अध्यक्ष ओलीले १० औँ महाधिवनेशका समापनस्थल सौराहको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा महाधिवेशन मूल आयोजक समितिका उपसंयोजक सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीलाई समापन स्थलको बारेमा ब्रिफिङ गरेका थिए ।
एमाले महाधिवेशन आगामी मंसिर १०-१२ सम्म चितवनमा हुँदै छ । महाधिवेशन नारायणी नदी किनारमा उद्घाटन भएर सौराहमा समापन हुने कार्यक्रम छ ।
चितवनको राष्ट्रिय निकुञ्जमा अवस्थित सौराहमा हरेक वर्ष हात्ती महोत्सव हुने गर्छ । हात्ती महोत्सव हुने ठाउँमा एमालेले आफ्नो महाधिवेशनको समापन गर्न लागेको लागेकाे हाे ।
ओलीको साथमा स्थायी कमिटी सदस्य रामबहादुर थापा, पार्टी केन्द्रीय कमिटी सदस्य प्रभु साह र राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल लगायतका नेताहरु सहभागी छन् ।
स्थलमार्ग हुँदै चितवन पुगेका ओलीले दासढुंगास्थित मदन-आश्रित शालिकमा माल्यार्पण गरेका थिए । चितवन जाने क्रममा ओलीलाई बाटोमा स्थानीयले स्वतस्फूर्त रुपमा अभिनन्द गरेका थिए ।
अध्यक्ष ओली भोलि अर्थात् मंगलबारसम्म चितवनमा रहने कार्यक्रम छ ।




