कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीद्धारा राजीनामा, जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

कर्णाली । कर्णाली सरकारमा सत्ता गठबन्धन दलभित्र विवाद चर्किएपछि अन्तत: मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गठबन्धनको सरकार भएपनि कांग्रेसलाई बेवास्ता गर्दै सरकार संचालन गरेको आरोप मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई थियो ।

महेन्द्रबहादुर शाहीले दोस्रो पटक विश्वासको मत लिँदा कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने सहमति भएको थियो । सोही सहमतिको आधारमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न निरन्तर कांग्रेसले दबाब दिएपछि कर्णाली सरकार ढलेको हो ।

निरन्तरको दवावपछि मुख्यमन्त्री शाहीले सोमबार साँझ राजीनामा दिएका हुन् । आजै दिउँसो प्रदेश १ मा भीम आचार्यले पनि मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् ।

जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

कर्णाली प्रदेशमा मुख्यमन्त्रीमा जीवनबहादुर शाही आउने पक्का भएको छ । महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वको सरकार निर्माणका लागि प्रक्रिया अघि बढेको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री बन्नका लागि मंगलबार विहान दाबी प्रस्तुत गर्ने भएका छन् ।

महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्दा कांग्रेसले उनलाई आलो पालोको सहमतिमा सघाएको थियो । माओवादीका अध्यक्ष प्रचण्डले कर्णाली सरकारबाट राजीनामा नदिन शाहीलाई निर्देशन दिएको तीन दिनमै मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेशमा ४० जना सांसद छन् । एमालेका ४ सांसद र माओवादीका १ सांसद कारबाहीमा परेपछि पद रिक्त छ । अहिलेको कूल सांसद संख्या ३५ छ । बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ । यी दुई पार्टी मिल्दा बहुमत पुग्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.