कास्की । सरकारी पदभार गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने काूननी व्यवस्था छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले भने निकै समयपछि मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मनाङेले यस अघि आफ्नो सम्पत्तिको बारेमा आफैं अनभिज्ञ रहेको बताउँदै आएका थिए । अहिले उनले आफ्नो नाममा कुनै सम्पत्ति नरहेको विवरण सार्वजनिक गरेका छन् । बरु उनले आफ्नो नाममा २ करोड बढी ऋण रहेको विवरण सार्वजनिक गरेका छन् ।
आफ्नो नाममा सम्पत्ति नरहेको बताउँदै मन्त्री मनाङेले अर्काको नाममा बैनापट्टा गरेको, संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको विवरण प्रदेश सरकारलाई बुझाएका हुन् ।
प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा दुई रोपनी, मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरी–२ मा ३ रोपनी जग्गा, पदमपोखरी मकवानपुरमा छोराको नाममा १ रोपनी ९ आना १० दाम जग्गा, पोखराको पामेभन्दा माथि लौरुकमा गण्डकी एग्रिकल्चरलगायत सम्पत्ति विवरण मनाङेले सार्वजनिक गरेका छन् ।
२०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट प्राप्ति गरेको २२ तोला सुन, एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ, व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी, पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् ।
उनले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ३ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।