काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा पक्षमा ५९ मत र विपक्षमा ४३ मत खसेको थियो । प्रस्तावमा दुई मत भने तटस्थ रहेको थियो । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ ।
सोमबार मतदानमा १०४ जना सांसद उपस्थित भएका थिए।
बागमती प्रदेश सभामा कुल ११० सदस्य छन् । जसमध्ये एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका तर्फबाट स्वतन्त्र सांसद एक जना छन्।
मतदानका क्रममा एमाले र विवेकशील साझाले विपक्षमा मत गरेका छन् । त्यसैगरी नेमकिपा भने तटस्थ बसेको थियो ।
नेपालको संविधानको धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। सोही अनुसार पाण्डेले विश्वासको मत लिएका हुन्।
कात्तिक १० गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेपछि पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।